हेमा भट्ट
कञ्चनपुर -“कृष्णपुरका बालबालिकाको चौतर्फी विकास, बालबालिकाले स्वस्फूर्त निर्णय लिन सक्ने– सबैले निकालौं निकास” भन्ने मूल नाराका साथ कृष्णपुर नगरपालिकामा ७ दिने बाल नेतृत्व तथा उद्घोषण तालिम सम्पन्न भएको छ।
जेठ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको सो तालिममा कृष्णपुर नगरपालिका भित्र रहेका २६ वटा माध्यमिक विद्यालयहरूबाट १ जना नानी र १ जना बाबु गरी प्रतिनिधित्व गराइएको थियो।
तालिमको उद्घाटन कार्यक्रम कृष्णपुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्री हेमराज ओझाले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्नु नै समग्र नगर र राष्ट्रको समृद्धिको आधार भएको उल्लेख गर्नुभयो। उहाँले बालबालिकालाई नेतृत्व र निर्णय क्षमतामा सक्षम बनाउने यस्ता तालिमहरू समय सापेक्ष आवश्यक रहेको धारणा राख्नुभयो।


कार्यक्रमको अध्यक्षता नगर स्तरीय बाल सञ्जालका अध्यक्ष अशोक सिंह धामीले गर्नुभएको थियो।
विशिष्ट अतिथि नगर उपप्रमुख आदरणीय श्रीमती दोपती रानाले बालमैत्री नगरपालिका निर्माणमा यस्तो पहल ऐतिहासिक भएको बताउँदै सहभागी सबैलाई शुभकामना दिनुभयो।
यस तालिममा बालबालिकाहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सार्वजनिक उद्घोषण कला, समुहमा कार्य गर्ने सीप, र व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।


कृष्णपुर नगरपालिका कञ्चनपुर जिल्लामा बालबालिकाका लागि यस्तो उद्घोषण तालिम सञ्चालन गर्ने पहिलो नगरपालिका बनेको भन्दै नगरका शिक्षक, अभिभावक तथा सरोकारवाला निकायहरूबाट सराहना प्राप्त भएको छ।
कार्यक्रमको सफल सञ्चालनमा नगरपालिका र नगरस्तरीय बाल सञ्जालको संयुक्त संयोजन रहेको थियो।
महिला, बालबालिका तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रमको समाचार विभिन्न पत्रपत्रिकाहरूमा समेत प्रकाशित भएको छ।
