जेठ १८ धनगढी
कैलालीको गोदावरी नगरपालिकाका २ हजार विद्यार्थीलाई लागू औषध दुर्व्यसनी विरुद्धको जनचेतना दिइँदै छ । गोदावरी नगरपालिका सँगको सहकार्यमा सामाजिक विकास मञ्च, सुदूरपश्चिमले गोदावरीका १५ विद्यालयका २ हजार विद्यार्थीलाई लागू औषध दुर्व्यसनी विरुद्ध जनचेतना दिइरहेको हो । सामाजिक विकास मञ्चका अध्यक्ष यज्ञराज कापडीले माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरी लागू औषध दुर्व्यसनी विरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
उनले जनचेतना कार्यक्रम अन्तरगत बाह्रौँ दिन आइतबार गोदावरी नगरपालिका – ३ मा रहेको ग्वासी माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको बताए । ‘शिक्षामा सुदूरपश्चिममा सबैभन्दा पहिलो रिजल्ट दिने गोदावरीमा लागू औषध दुर्व्यसनीमा पनि सबैभन्दा पहिलो स्थानमा छ’ उनले भने ‘यसलाई न्यूनीकरण गर्नको लागि यस्तै जनचेतना मूलक कार्यक्रम गर्नुको विकल्प छैन । यसको लागि प्रहरी, वकिल लगेर हामीले जनचेतनाका कार्यक्रम गरिरहेका छौ ।’
ग्वासी माविमा आयोजित लागू औषध दुर्व्यसनी विरुद्धको कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले विद्यार्थीहरूलाई लागू औषधमा नलागी आफ्नो भविष्य बनाउन विद्यार्थीहरूलाई आग्रह गरे । उनले विद्यार्थीलाई आफ्ना भविष्य सुनिश्चित गरी आमाबुबा र ठाउँको नाम उच्च राख्न आग्रह गरे ।
विद्यार्थीलाई लागू औषधमा लाग्नबाट जोगाउन गोदावरीको प्रत्येक वडामा धेरै विद्यार्थी भएका विद्यालयमा लागू औषध सम्बन्धी कार्यक्रम आयोजना गरिरहेको उनले बताए ।
ग्वासी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश ताम्राकारले बालबालिकालाई लागू औषधबाट जोगाउन जनचेतनाका कार्यक्रम प्रभावकारी हुने बताए । उनले यसका लागि सरकार, स्थानीय तह, पुलिस प्रशासन, अभिभावक, पत्रकारले यसको न्यूनीकरणका लागि लाग्नुपर्ने बताए । उनले यस्ता जनचेतनाका कार्यक्रममा विद्यार्थी सँगै अभिभावकलाई पनि सहभागी गराउँदा अझै प्रभावकारी हुने बताए ।
उक्त तालिममा इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वरिष्ठ देउडा गायक दीर्घ फुलाराले गीत मार्फत विद्यार्थीलाई लागू औषध सम्बन्धी सचेत गराएका थिए । कार्यक्रममा ग्वासी माविमा अध्ययनरत कक्षा ९ र १० का करिब १ सय विद्यार्थीको सहभागिता रहेको छ ।
