व्यवसायीको आन्दोलन, सवारी बन्द

कैलाली, जेठ १८ –गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ ऐनको विरोधमा सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। विरोधस्वरूप उनीहरूले आज (जेठ १८ गते) देखि लामोदूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधन पूर्ण रूपमा बन्द गरेका छन् भने भोलि (जेठ १९ गते) देखि सम्पूर्ण सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका छन्।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनले यात्रु ओसारपोसार गर्न सक्ने व्यवस्था सहितको ऐन ल्याएपछि देशभरका यातायात व्यवसायीहरू आक्रोशित बनेका हुन्। व्यवसायीहरूको दाबी अनुसार उक्त व्यवस्था सार्वजनिक यातायात क्षेत्रमा वर्षौंदेखि लगानी गरी सञ्चालनमा आएका व्यवसायीहरूको अस्तित्वमा प्रत्यक्ष प्रहार हो।

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले निजी सवारीसाधनलाई सार्वजनिक यातायात सरह सञ्चालन गर्न दिने ऐनको स्पष्ट विरोध गर्दै भने,

“राज्यले लाखौं रुपैयाँ कर तिरेर सञ्चालनमा आएका सार्वजनिक सवारीसाधनलाई कमजोर बनाउन खोजेको छ। यो ऐनले व्यवसायीहरूलाई धरासायी बनाउँछ। हामीले विगतमा सरकारसँग गरेका सम्झौताहरूको कार्यान्वयन माग गरेका छौं।”

जोशीका अनुसार, आज सार्वजनिक सवारीसाधनहरूमा कालोपट्टी बाँधिएको र कालो झण्डा राखिएको छ। यदि मागहरू सम्बोधन नभए भोलिदेखि सार्वजनिक यातायात पूर्णरूपमा बन्द गरिने चेतावनी व्यवसायीहरूले दिएका छन्।

सार्वजनिक सवारीसाधन व्यवसायीहरूले लामो समयदेखि कर, बीमा, मार्ग अनुमति, र भाडा निर्धारणजस्ता कानुनी प्रक्रिया पूरा गरी सेवा दिँदै आएका छन्। तर, निजी सवारीसाधनलाई यात्री ओसारपोसारको छुट दिँदा असमान प्रतिस्पर्धा सिर्जना हुने उनीहरूको भनाइ छ।

यदि आन्दोलन चर्किँदै गयो भने त्यसको प्रभाव यात्रुहरू, विद्यार्थी, कार्यालय जाने कर्मचारी तथा ग्रामीण भेगका मानिसहरूमा प्रत्यक्ष रूपमा पर्नेछ। आर्थिक कारोबार, उद्योग–व्यापार र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिएको छ।

गण्डकी प्रदेश सरकारले ल्याएको ऐन व्यवसायीहरूको दृष्टिकोणबाट असमान महसुस गरिएको छ। यस्तो अवस्थामा सरकार र व्यवसायीबीच संवाद र सहमति आवश्यक देखिन्छ, ताकि यातायात क्षेत्रको व्यवस्थापन सुध्रियोस् र जनताले सहज सेवा पाउन सकून्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply