हेमा भट्ट असार २९
कञ्चनपुर – पुनर्वास नगरपालिका–११ स्थित श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
समूहका अध्यक्ष मानबहादुर थापाका अनुसार मिति २०८२ साल असार २९ गते सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाको नर्सरीमा उत्पादन गरिएका विभिन्न प्रजातिका २५ सयभन्दा बढी बोटबिरुवा रोपिएको हो।
कार्यक्रममा गोल्ड मोहर, वीरेन्द्र फूल, राजवृक्ष, टिक, मसला, अमला, बकाइनो, अम्बा, कागती, जामुन, कपूर, सिसौ, निम, र मोरिंगा जातका बिरुवाहरू रोपिएको जनाइएको छ।
वन अधिकृत दिनेश कुमार यादव तथा प्राविधिक स्टाफहरूको उपस्थिति र सहकार्यमा सम्पन्न कार्यक्रमलाई सफल बनाउन वडा नं. ११ का वडाध्यक्ष तुलसी अर्याल, कार्यपालिका सदस्य यादुराम सार्की, समूहका पदाधिकारी, समाजसेवी, बनप्रेमी तथा सर्वसाधारण उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
“जय बन, जय संरक्षण” भन्ने नारासहित सञ्चालन गरिएको वृक्षारोपण कार्यक्रमले सामुदायिक वन संरक्षण र हरियाली विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।