असार ३१ धनगढी
बैतडीमा खानेपानीका मूहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका ९ ओटा स्थानीय तहका विभिन्न स्थानमा रहेका मूहानबाट जाँचका लागि नमूना संकलन गरि परीक्षण गर्दा ३८ ओटा मूहानको पानीमा कोलिफर्म भेटिएको हो । शिवनाथ गाउँपालिका बाहेकका स्थानीय तहका १६४ ओटा मूहानबाट नमूना संकलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिष्टेन्ट धर्मानन्द बडूले बताए ।
स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मूहानबाट नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो । सबैभन्दा धेरै पुर्चाैडी नगरपालिकाका खानेपानीका मुहान दुषित रहेको पाइएको छ । ३२ ओटा नमूना संकलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो । पाटनमा १३ मध्ये ९, सिगासबाट १५ ओटा नमूना संकलन गरि परीक्षण गर्दा ७ मुहानमा कोलिफर्म भेटिएको छ ।
यस्तै दशरथचन्दमा ४ मध्ये १, दोगडाकेदारमा २१ मध्ये १, डिलाशैैनीमा ६ मध्ये १, पञ्चेश्वरमा १६ मध्ये १, मेलौलीमा ३७ मध्ये २ र सुर्नयमा २० मध्ये १ मा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याव टेक्नीसियन निरीक्षक जयसिंह बडालले जानकारी दिए । खानेपानीका मूहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मूहानमा मिसिन गइ दुषित हुने गरेको उनले बताए ।