कार्यसम्पादनमा ढिलाइ र सुधारको अवसरबारे समीक्षा
हेमा भट्ट |असार ३२, २०८२
कञ्चनपुर- कृष्णपुर नगरपालिका–६, बन्जरिया स्थित श्री महाकाली सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजना समिक्षात्मक गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रमले समूहको कार्यसम्पादन, बजेट कार्यान्वयन, भौतिक प्रगति तथा आन्तरिक व्यवस्थापनबारे गहिरो समीक्षा गरेको छ।
गोष्ठीको अध्यक्षता समूह अध्यक्ष वीर बहादुर राजवंशीले गर्नुभएको थियो भने प्रमुख अतिथि सीएसिसी उपाध्यक्ष तथा सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी हुनुहुन्थ्यो। कार्यक्रममा सल्लाहकार, उपभोक्ता समिति सदस्य, टोल संयोजक, गस्ती कर्मचारी, र मिडियाकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित रु. ४६,५६,३२१.८८ मध्ये रु. ३०,५९,००० मात्र खर्च गरिएको देखिन्छ। कार्यसम्पादनमा ढिलाइको प्रमुख कारण भनेको वन पैदावार बिक्री प्रक्रिया तथा निर्णय कार्यान्वयनमा भएको ढिलाइ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
गोाष्ठीमा प्रस्तुत सफल कार्यहरूमा निम्न रहेका छन्:
घरधुरी सदस्यता नवीकरण तथा परिचयपत्र वितरण
वार्षिक साधारण सभा सम्पन्न
चिरान गरिएको काठको आंशिक वितरण
वन गस्ती तथा अग्नि नियन्त्रण रेखा निर्माण
कार्यालय भवन मर्मत तथा ग्रिल निर्माण
महादेव मन्दिर र प्रतिक्षालय निर्माण
नेतृत्व विकास अभिमुखिकरण कार्यक्रम
वैज्ञानिक वन व्यवस्थापन तथा AAC सर्वेक्षण
स्टार मिडिया नेटवर्कमार्फत वनसम्बन्धी डकुमेन्ट्री निर्माण
सरोकारवालासँग अन्तरक्रिया तथा भ्रमण कार्यक्रम
अध्यक्ष राजवंशीले प्रस्तुत गर्नु भएका चुनौतीहरूमध्ये मुख्य समस्याहरू यसप्रकार छन्:
कार्यसमितिका केही सदस्यहरूको सक्रियता अभाव
छपान कटान तथा पैदावार संकलनमा ढिलाइ
कार्यान्वयनमा तदारुकताको कमी
प्रमुख अतिथि पुनाराम चौधरीले पारदर्शिता, सहभागिता र समन्वयलाई सामुदायिक वन व्यवस्थापनको मेरुदण्डको रूपमा औँल्याउँदै भने,
“वैज्ञानिक र दिगो वन व्यवस्थापनका लागि वार्षिक कार्ययोजनामा स्पष्टता जरुरी छ। उपभोक्तालाई योजना र आम्दानी खर्चबारे बुझाउन सक्नुपर्छ, नत्र भ्रम सिर्जना हुन्छ।”
कार्यसमिति र टोल समितिका सदस्यहरू—उपाध्यक्ष निशान्त खड्का, सचिव देबकी नेगी, टोल संयोजक सीता चौधरी, कोषाध्यक्ष चित्रा रावल, र घुम्ती कोष टोल समिति सचिव शान्ति चौधरी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रम सञ्चालन कार्यालय सचिव रामकृष्ण चौधरीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष निशान्त खड्काले दिनुभएको थियो।
अध्यक्ष वीर बहादुर राजवंशीले समिक्षात्मक निष्कर्ष दिँदै भने:“हामीले निर्णय गर्छौं तर कार्यान्वयनमा गति दिन सकिरहेका छैनौं। हामीले लयमा ल्याउने प्रयास गरिरहेका छौं, तर अझै धेरै गर्न बाँकी छ। समितिको प्रभावकारिता बढ्न आवश्यक छ।”उनले घुम्ती कोषको उद्देश्य गरिब र पछाडि परेका उपभोक्तालाई राहत दिनु भएकोले त्यसप्रति विशेष ध्यान दिनुपर्ने बताउँदै थपे,
“समय अनुसार हिँड्न नसके हामी असफल हुनेछौं।”