श्री सिता सामुदायिक वन उपभोक्ता समूहको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

रैकवार खबर दैनिक श्रावण १०
कञ्चनपुर -कृष्णपुर नगरपालिका ९, घोडाघाटमा रहेको श्री सिता सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८१/८२ को समिक्षा तथा २०८२/८३ को योजना तर्जुमा गर्न विशेष गोष्ठी सम्पन्न गरेको छ।

समूहका अध्यक्ष पुनाराम चौधरीको अध्यक्षतामा आयोजित गोष्ठीमा वन संरक्षण, स्रोत व्यवस्थापन, दीगो विकास, वन पैदावारको उपयोग, अनुगमन तथा सामाजिक उत्तरदायित्वलगायतका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा समूहका पदाधिकारी, उपभोक्ता सदस्य, स्थानीय निकायका प्रतिनिधि, सामुदायिक वन सल्लाहकार, शिक्षाविद, बुद्धिजीवी तथा सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन समाजसेवी लालबहादुर चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष जितबहादुर बोहराले राख्नुभएको थियो।

गोष्ठीमा अध्यक्ष पुनाराम चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समूहको विगत वर्षको गतिविधि, उपलब्धि र चुनौतिबारे विस्तृत विवरण दिनुभयो। उहाँले वन संरक्षणदेखि ताल–तलैया व्यवस्थापनसम्मका क्षेत्रमा समूहले उत्कृष्ट कार्य सम्पादन गरेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकी प्रमुख अतिथि वडा सदस्य सलिता विकले समूहको योजनाबद्ध कार्यप्रति सन्तोष व्यक्त गर्दै पारदर्शी निर्णय प्रक्रिया र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा समूहले पुर्‍याएको योगदानप्रति विशेष धन्यवादसमेत व्यक्त गर्नुभयो।

समीक्षा गोष्ठीमार्फत शिक्षा, पूर्वाधार, स्रोतको सदुपयोग र समावेशी विकासमा केन्द्रित बहुआयामिक योजना तर्जुमा गरिएको छ। विशेषगरी विद्यालय नजान पाएका विद्यार्थीहरूलाई पोशाकलगायत आवश्यक सहयोगका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ।

गोष्ठीमा प्रस्तुत सुझाव, समिक्षा र प्रतिबद्धताले सिता सामुदायिक वनलाई आगामी वर्ष अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा समूहको तर्फबाट आर्थिक वर्ष २०८२/८३ का लागि ५५ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply