साउन १५
धनगढी – बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुराको आयोजनामा बिपद जोखिम न्यूनीकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिका वडा नं ४ खैलाडमा सम्पन्न भएको छ ।
सिमान्तकृत थारु एंव दलित समुदाय र बाढी प्रभावितहरुको बसोबास रहेको खैलाडमा हरेक बर्ष बाढी डुबानको जोखिम रहदै आएकाले संस्थाले बिपद टास्कफोर्स गठन गरी बिपद ब्यवस्थापन सम्बन्धि कार्यक्रम संचालन गर्दे आईरहेको छ ।
भजनी नगरपालिकाको समन्वय,KIA को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले अभिमुखीकरण गरिएको थियोे ।
उक्त क्षेत्रमा बर्षाको समयमा वरपरका स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं ४ का भलबन्सा तथा पूर्वसूचना कार्यदल संयोजक सिताराम महतो ले समुदायसंगको समन्वय तथा सहकार्यमा MPDS संस्थाले बिपद जोखिम न्यूनीकरणका लागि टास्क फोर्सलाई प्रदान गरिएको अभिमुखिकरणले उनीहरुको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले बाढी तथा डुबानमा गाउँ पुरै डुब्ने भएकोले बिपद पूर्वतयारी योजना बलियो हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं ४ का वडा सदस्य दुखरानी चौधरीले टास्कफोर्सको क्षमता विकास अभिवृद्धि र परिचालनका लागि विपद सम्वन्धी कार्यक्रमका लागि आफू वडा कार्यालयको तर्फबाट पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा सामाजिक अगुवा दिल वहादुर बुढा ले बाढी तथा डुबानबाट बच्न र सचेतना अभिवृद्धी गर्ने कार्यमा यस्ता अभिमुखीकरणले विशेष सहयोग पुग्ने बताउदै विपदमा पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सके जोखिम व्यवस्थापनमा थप टेवा पुग्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले बर्सेनि बाढी तथा डुबानबाट खैलाड बस्ती जोखिममा पर्ने भएकोले दिगो बिपद जोखिम व्यवस्थापनका लागि पहल गरि दिन आग्रह गरेका थिए ।
कार्यक्रममा बिपद जोखिम न्यूनीकरण,पूर्व तयारी,प्रतिकार्य योजना,टास्कफोर्सको परिचालन क्षमता अभिवृद्धि,पूर्व सूचना प्रणाली,बिपद बजेट योजना,जैबिक तटबन्ध लगायतका बिषयमा बहुउद्देश्यीय बिकास समाजका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका ले सहजीकरण गरेका थिए । खैलाड बिपद ब्यवस्थापन समिति टास्कफोर्सका अध्यक्ष बलिराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।