भदौ ६ कञ्चनपुर
कृष्णपुर नगरपालिका–१ अन्तर्गत रहेको श्री ऐश्वर्य सामुदायिक वन क्षेत्रमा हात्तीको झुण्ड प्रवेश गरी स्थानीय कृषक तथा उपभोक्ताहरुको कृषियोग्य बालीमा ठूलो क्षति पुर्याएको छ।
उपभोक्ताहरुका अनुसार करिब एक दर्जन भन्दा बढी हात्तीको झुण्ड गत तीन दिनदेखि निरन्तर वन क्षेत्रभित्रै वासस्थान बनाईरहेको छ। उक्त झुण्डले वनमा रोपिएको अमरेसो, नेपियर घाँस मात्र नभई उपभोक्ता तथा स्थानीय किसानहरुले लगाएको धान, मकै लगायतका मुख्य खाद्य बालीहरुमा ठूलो क्षति पुर्याएको छ।
“धान पाक्ने बेलामा खेतमै हात्ती पस्दा रातभर जाग्राम बस्नुपरेको छ, खेतमा लगाएको करिब आधा धान र मकै खेर गयो,” एक स्थानीय कृषकले गुनासो पोखे।
हात्तीको झुण्ड लगातार त्यही क्षेत्रमा वासस्थान बनाइरहेकाले अझै ठूलो क्षति हुने उच्च सम्भावना रहेको स्थानीयवासी बताउँछन्। सामुदायिक वन उपभोक्ता समूहले पनि जारी गरेको सूचनामा सम्पूर्ण उपभोक्ता तथा स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
“जनधनको क्षति हुनसक्ने अवस्था देखिएकाले राति अबेरसम्म खेतबारीमा नजाने, घर वरिपरि सुरक्षित बस्ने र सामूहिक सतर्कता अपनाउन जरुरी छ,” समूहको अध्यक्षले जानकारी दिए।
स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायलाई समस्या समाधानका लागि आग्रह गर्दै आएका छन्। तर तत्कालीन राहत वा दीर्घकालीन समाधानका उपायहरु अझै लागू हुन सकेको छैन।
“वर्षेनी यसैगरी हात्तीको समस्या झेल्दै आएका छौं, तर क्षतिको उचित मूल्याङ्कन र क्षतिपूर्ति पाउन सकेका छैनौं,” स्थानीय किसानहरुको गुनासो छ।
यसैबीच सामुदायिक वन उपभोक्ता समूहले समेत सम्बन्धित निकायहरुलाई तत्काल ध्यानाकर्षण गराउँदै जनधनको सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक कदम चालिदिन आग्रह गरेको छ।
स्थानीय बासिन्दा भने अहिले घरघरमै भय र त्रासका बीच दिनरात बिताउन बाध्य भएका छन्।