MPDS को सहयोगमा भजनी काँडा नदीमा सामुदायिक जैविक तटबन्ध

भदौ ९
भजनी (कैलाली) – भजनी नगरपालिकाको समन्वय र kerk in actie को सहयोगमा बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुराले बाढी तथा पहिरो प्रभावित जनताका लागि आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत भजनी नगरपालिका–३ बर्दवाफाँटा काँडा नदीमा सामुदायिक जैविक तटबन्ध निर्माण गरेको छ।

हरेक वर्ष वर्षायाममा काँडा नदीमा आउने बाढीले बर्दवाफाँटा बस्ती डुबानमा पर्ने, सयौँ रोपनी खेतीयोग्य जमिन कटान हुने तथा धनजनको क्षति हुने गरेको छ। यस वर्ष पनि बाढीले डल्फिन पर्यटकीय मार्ग नै कटान गरी गाउँमा पस्ने जोखिम देखिएपछि स्थानीय समुदायको सक्रियतामा जैविक तटबन्ध निर्माण गरिएको हो।

MPDS का डिआरआर प्राविधिक विज्ञ राजेन्द्र रैकाका अनुसार बर्दवाफाँटा विपद् व्यवस्थापन समिति टास्कफोर्सको अगुवाइमा स्थानीय स्रोत साधनको प्रयोग गरी करिब ३४.५ मिटर लम्बाइको तटबन्ध निर्माण गरिएको हो। यसबाट करिब ९० घरपरिवारका ३६० जना प्रत्यक्ष लाभान्वित हुनेछन्।

तटबन्ध निर्माणका लागि २७ सदस्यीय विपद् व्यवस्थापन समिति टास्कफोर्स गठन गरी स्थानीय छलफल, सहभागिता र श्रमदानमा काम सम्पन्न गरिएको जनाइएको छ।

अनुगमनका क्रममा भजनी नगर प्रमुख केबल चौधरीले बाढी तथा डुबान जस्ता विपद् न्यूनीकरणमा समुदायलाई सचेत बनाउन MPDS को पहल सराहनीय रहेको बताउँदै नगरपालिकाले यसका लागि १ लाख रुपैयाँ सहयोग गरेको जानकारी दिए। उनले आगामी दिनमा थप बजेटसहित सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

त्यस्तै वडा नं ३ का अध्यक्ष बिक्रम चौधरीले तटबन्ध राम्रोसँग बनेको र विपद् जोखिम न्यूनीकरणमा आफूहरू निरन्तर सहयोग गर्ने बताए। नगरपालिकाका विपद् फोकल पर्सन विष्णु न्यौपानेले कम बजेटमै प्राविधिक हिसाबले उत्कृष्ट कार्य भएको भन्दै MPDS ले स्थानीय तहमा चेतना अभिवृद्धि गर्न गरेको योगदान प्रशंसनीय रहेको बताए।

बर्दवाफाँटा विपद् व्यवस्थापन समिती टास्कफोर्सकी अध्यक्ष सविता काफ्लेले सामुदायिक जैविक तटबन्धले काँडा नदीले गर्ने निरन्तर माटो कटान रोक्ने र बस्ती तथा खेतीयोग्य जमिनलाई सुरक्षित गर्ने विश्वास व्यक्त गरिन्।

अनुगमन कार्यक्रममा वडा सदस्य जैसरा विक, भलबन्सा टिकाराम जैशी, टास्कफोर्स पदाधिकारी, MPDS का प्राविधिक विज्ञ राजेन्द्र रैका लगायतको सहभागिता थियो।

यो तटबन्ध निर्माण नगरपालिकाबाट १ लाख, MPDS डडेल्धुराबाट १ लाख ३० हजार र स्थानीय श्रमदानसहित त्रिपक्षीय सम्झौता अनुसार सम्पन्न गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply