गणेश क्षेत्री, भाद्र ११
टीकापुर नगरपालिका–६ नारायणपुर चौराहामा यस वर्षको गणेश उत्सव–२०८२ गणेश चतुर्थीको अवसरमा भव्यताका साथ शुरु भएको छ। पद्म प्रकाशेश्वर मन्दिरबाट कलशयात्रा निकाल्दै बाजागाजा, भजन र नृत्यका साथ श्री गणेशको मूर्ति स्थापना गरिएको हो।
कार्यक्रमको सभापतित्व ओपेन्द्र खड्काले गर्नुभएको थियो भने टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा प्रमुख अतिथि रहनुभएको थियो। मेयर डगौराले धार्मिक कार्यक्रमहरूले समुदायमा आपसी सद्भाव, धार्मिक एकता र अनुशासन मजबुत बनाउने बताउनुभयो। उहाँले धर्म ज्ञानको भण्डार भएको र मानिसलाई अनुशासित तथा मर्यादित जीवनयापनतर्फ उन्मुख गराउने शक्ति धर्मकै भएको उल्लेख गर्नुभयो।
विशिष्ट अतिथिका रुपमा वडानम्बर–८ का अध्यक्ष दिर्घ ठकुल्लाले धार्मिक कार्यक्रमहरूले सहिष्णुता र आपसी एकता बढाउने धारणा राख्नुभयो। वडानम्बर–६ का अध्यक्ष बलिराम चौधरीले हिन्दू धर्मको आस्थाको प्रतीक गणेश उत्सवलाई सबैले अनुशासित र मर्यादित ढंगले मनाउन आग्रह गर्नुभयो।
सल्लाहकार कपुरसिंह कडायतको स्वागत मन्तव्यपछि साबिक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत, समाजसेवी देबबहादुर बुढाथोकी, टोेपबहादुर केसी लगायतले पनि आफ्ना धारणा राख्नुभएको थियो।
हिन्दू धर्मावलम्बीहरूले सर्बप्रथम पूजा गरिने भगवान श्रीगणेशलाई विघ्न–बाधा हर्ताका रूपमा मान्ने परम्परा रहिआएको छ। यसै क्रममा शुरु भएको गणेश उत्सव कार्यक्रम भदौ १७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। प्रत्येक दिन बिहान पूजा–अर्चना र बेलुकी ८ बजेदेखि भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ। अन्तिम दिन भदौ १७ गते मूर्तिको भव्य विसर्जन गरिनेछ।
कार्यक्रमको मुख्य आयोजक गणेश उत्सव समिति, नारायणपुर चौराहा रहेको छ भने मुख्य प्रायोजक टीकापुर वडानम्बर–६, सह–प्रायोजक लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था र सामुदायिक सहकारी संस्था रहेका छन्। कार्यक्रमको सञ्चालन कुलराज खनालले गर्नुभएको हो। श्रद्धालुहरूलाई दैनिक कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेका छन्। साथै, कथा वाचन गुरु नारायणप्रसाद तिमिल्सिनाले गर्नुभएको छ।