हेमा भट्ट , भाद्र १९
धनगढी, भदौ १९ – निर्माण व्यवसायी संघ कञ्चनपुरको ५१औं साधारण सभा तथा चुनावी अधिवेशन–२०८२ नजिकिँदै गर्दा संघको सचिव पदका लागि कोपिला कुँवरले उम्मेदवारी घोषणा गरेकी छिन्। उनका योजनाहरू र प्रतिबद्धताले व्यवसायीहरूमा नयाँ उत्साह र विश्वासको सन्देश छरिरहेको छ।
उम्मेदवार कुँवरले पत्रकार सम्मेलनमा भावुकतापूर्वक भनिन्, “हामी व्यवसायीहरूको हक–हित, सुरक्षा र समृद्धिको लागि दृढ प्रतिबद्ध छौं। महिला, युवा र नवप्रवर्तनमूखी व्यवसायीहरूको पहिचान र संरक्षणलाई प्राथमिकतामा राख्दै, हामी संघलाई सबैको साझा मञ्च बनाउनेछौं।” उनले पारदर्शिता, सुशासन र निष्पक्ष निर्वाचन प्रणाली लागू गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।
कोपिला कुँवरले आफ्नो अभियान अन्तर्गत स्थानीय उत्पादन र व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने, समयावधिभित्र मेला, प्रदर्शनी र व्यापार सम्मेलनको आयोजना गर्ने योजना प्रस्तुत गरिन्। यसैगरी, उनले पर्यटन र व्यापारलाई जोडेर कैलालीका व्यवसायिक अवसरहरू विस्तार गर्ने, डिजिटल मार्केटिङ र अनलाइन बजारमा व्यवसायीहरूको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
साथै उनले व्यवसायीहरूको दैनिकी सरल बनाउने, व्यवसाय दर्ता, कर दर्ता, नविकरण प्रक्रिया सहज बनाउने, आगजनी, चोरी वा आकस्मिक संकटमा परेको व्यवसायलाई राहत, पुनःस्थापना र अन्य सुविधा उपलब्ध गराउने योजना पनि अघि सारिन्।
संघको संस्थागत विकासतर्फ ध्यान दिँदै उनले कार्यालय व्यवसायीमैत्री बनाउने, अनलाइन सदस्यता नविकरण, गुनासो व्यवस्थापन र हेलो काल सेवा जस्ता डिजिटल प्रणाली लागू गर्ने प्रस्ताव राखिन्। यसले व्यवसायीहरूको तत्काल समस्या समाधानमा सहयोग पुग्नेछ।
उम्मेदवारको अभियानले “युवा सोच, उद्यमशीलता – परिवर्तनको पहिलो कदम” भन्ने सन्देश अघि सार्दै नयाँ सोच र नवीन दृष्टिकोणको प्रतिनिधित्व गरेको छ। कार्यक्रममा उपस्थित व्यवसायी, सरोकारवालाहरू र समर्थकहरूले उनका स्पष्ट दृष्टिकोण, योजनाबद्ध तयारी र महिला नेतृत्वको साहसिक पहलको प्रशंसा गरे।
कोपिला कुँवरले आगामी भाद्र २८ गते हुने मतदानमा सबै सदस्यलाई आफ्नो अमूल्य मत दिन आग्रह गर्दै भनिन्, “हामी व्यवसायीक हक–हितको सुरक्षा, संरक्षण र प्रवर्द्धनमा निरन्तर लाग्नेछौं। युवा, महिला र नवप्रवर्तनमूखी व्यवसायीको पहिचान र सशक्तिकरण हाम्रो पहिलो प्राथमिकता हुनेछ।”
उनको प्रचार–प्रसार अभियान न्यू कोपिला शुज सेन्टर, गोलमार्केट (बसपार्क), धनगढीबाट सञ्चालन भइरहेको छ। व्यवसायीहरूले उनका योजनाहरू र प्रतिबद्धतालाई सकारात्मक रूपमा मूल्यांकन गर्दै आगामी निर्वाचनमा पारदर्शिता र परिणाममुखी नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।