हेमा भट्ट , भाद्र २१
कञ्चनपुर, कृष्णपुर ।
कृष्णपुर नगरपालिकाले मानसिक स्वास्थ्य सेवामा महत्वपूर्ण कदम चाल्दै काठमाडौं विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्र, धुलिखेल–काभ्रेसँग आज सम्झौता गरेको छ। यसअघि कुनै पनि स्थानीय तहसँग स्वास्थ्य सेवासम्बन्धी विषयमा औपचारिक सम्झौता नभएको अवस्थामा यो सम्झौता नेपालमै पहिलो भएको बताइएको छ।
सम्झौता अनुसार कृष्णपुर नगरपालिकाका मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीहरूले अबदेखि आफ्नै नगरभित्रै बसेर काठमाडौं विश्वविद्यालयका विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्। यसका लागि बिरामीहरू कृष्णपुर स्वास्थ्य चौकीमा उपस्थित भई त्यहाँ कार्यरत मेडिकल अफिसरको सहयोगमा अनलाइन दृश्य प्रविधि (भिजुअल टेक्नोलोजी) मार्फत विशेषज्ञहरूसँग सीधा संवाद गर्ने सुविधा उपलब्ध हुनेछ।
यो सेवा हरेक शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म नियमित रूपमा सञ्चालन हुने व्यवस्था गरिएको छ। साथै, काठमाडौं विश्वविद्यालय, मानसिक स्वास्थ्य तथा अनुसन्धान केन्द्रका विशेषज्ञ चिकित्सकहरूको टोलीले हरेक तीन महिनामा कृष्णपुरमै उपस्थित भई बिरामीहरूको प्रत्यक्ष स्वास्थ्य परीक्षण गर्नेछ।
नगरपालिकाले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय समेत गरेको छ। यसबाट नगरभित्रका बिरामीहरूलाई उपचारमा सहजता हुने विश्वास लिइएको छ।
सम्झौतामा काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिसिनका एसोसिएट डिन डा. दीपक कुँवरले विश्वविद्यालयको तर्फबाट र नगर प्रमुख हेमराज ओझाले नगरपालिकाको तर्फबाट हस्ताक्षर गरेका थिए।
सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ओझाले भने, “मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गरिएको यो सम्झौताले कृष्णपुरका नागरिकलाई घरमै विशेषज्ञ सेवा उपलब्ध गराउनेछ, जसले उपचारमा सहजता ल्याउनेछ।”
त्यस्तै, डा. कुँवरले भने, “यो सम्झौता कुनै पनि स्थानीय तहसँग गरिएको पहिलो कार्यक्रम हो। हामी यसलाई आदर्श मोडल बनाएर अन्य पालिकामा पनि विस्तार गर्ने योजना राखेका छौँ।”
नेपालमा अझै मानसिक स्वास्थ्य सेवामा पहुँच अभाव रहेको सन्दर्भमा गरिएको यो सम्झौतालाई सकारात्मक र ऐतिहासिक पहलका रूपमा लिइएको छ।