असोज ०३ धनगढी
दसैँ नजिकिएसँगै भारतबाट काम गरी घर फर्कने नेपालीको लर्को लाग्न थालेको छ । भारतको दिल्ली,बेङ्लोर,गुजरात लगायतका स्थानबाट नेपालीहरु काम गरी घर फर्कन थालेका हुन् ।
कैलालीको त्रिनगर भन्सार नाका हुँदै नेपालीहरु घर पर्कन थालेको हुन् । सो नाका हुँदै दसैँ मनाउन सुदूरपश्चिमका पहाडी ७ जिल्लाका मानिसहरु बढी आउने गरेको हेल्पडेस्कले जनाएको छ । गत शनिबार ६४०,आइतबार ६६५,सोमबार ८४० मंगलबार,७०२ जना नेपाल पर्केका छन् । त्यस्तै बुधबार ७१३,बिहिबार ५३३ र शुक्रबार ६८० जना भारतबाट नेपाल पर्केका हेल्पडेस्कको तथ्याङमा उल्लेख छ ।
बझाङका राजेन्द्र गिरीले दसैँ मनाउन घर आएको बताए ।
उनले भारतमा काम गरेको धेरै भएको र यसपाली ६ बर्षपछि दसैँ मनाउन घर आएको बताए । तारादेवी उखेडाले दिल्लीमा काम गरेर ७ वर्षपछि यसपाली दसैँ मनाउन घर फर्केको बताइन् । म र मेरो श्रीमान रोजगारीका दिल्ली गएको ७ बर्ष भयो’ उनले भनिन् ‘यसपाली आफ्नो जन्मभूमीमा गएर दसैँ मनाउन भनी घर फर्केका छौँ ।’
त्यस्तै,कमला सुनारले छोराछोरी नेपालमै छोडेर भारतमा रोजगारी गर्न गएको ५ बर्ष भएको बताइन् । यो बर्ष दसैँ पनि मनाउ छोराछोरीसँग भेटघाट गरौँ भनि घर फर्केको उनको भनाइ छ । एक महिनाको छुट्टीमा घर फर्केको उनले बताइन् । दसैँपछि भारत पर्कने उनको भनाइ छ । ‘आफ्नो जन्मभूमिमा आउँदा त खुशिलागी हाल्छ नी ?’ उनले भनिन् ‘नेपालमा रोजगारी के छ ? यहाँ काम गर्ने वातावरण पनि छैन फेरि काम गर्ने उद्योगधन्दा पनि नहुनुले कामको खोजीमा भारत जान बाध्य हुनु परेको छ ।’
त्यस्तै,दसैँको मुखमा कामको खोजीमा भारत जानेको संख्या पनि कम छैन् । आईतबार १३५,सोमबार १५०,मंगलबार ११९ जना कामको खोजीमा भारत गएको तथ्याङमा उल्लेख छ । बुधबार १३६,बिहिबार १५० र शुक्रबार दिउँसोसम्म १८३ जना नेपाली कामको खोजीमा भारत गएका छन् ।
घर पर्कने नेपालीलाई भारतीय सुरक्षाबलले कडाई गर्न थालेको छ । नागरिकता देखाएर मात्र नेपाल प्रवेश गर्न दिएको छ ।