धनगढीमा जारी जुगेडा कप : दोस्रो दिन डिस्कभरी चम्कियो, क्वाटर फाइनल तयारी तीव्र

कैलाली, असोज ५
कैलालीको धनगढी उप–महानगरपालिका–१०, जुगेडामा जारी निसर्ग इन्डो नेपाल जुगेडा कप–२०८२ भलिबल प्रतियोगिता दोस्रो दिनमा प्रवेश गरेको छ । संयुक्त राना जनचेतना परिवारको आयोजनामा भइरहेको प्रतियोगितामा आज (असोज ५ गते) निर्धारित कार्यक्रमअनुसार ४ खेलहरु सम्पन्न भएका छन् ।

दैनिक रुपमा भव्य उपस्थितिसहित सम्पन्न भइरहेका खेलहरूमा आज पहिलो खेल निकै रोमाञ्चक देखियो । मनेहरा स्पोर्ट्स क्लब र डिस्कभरी स्कुलबीच बेष्ट अफ फाइभ सेटमा भएको भिडन्तले दर्शकलाई निकै रोचक क्षण उपहार दियो । खेलको सुरुवाती सेट मनेहराले जितेर अग्रता लिएको भए पनि दोस्रो सेटमा डिस्कभरी स्कुलले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेको थियो । तेस्रो सेट पुनः मनेहराले आफ्नो पक्षमा पार्दा खेल निर्णायक मोडमा पुगेको थियो । तर चौथो र पाँचौ सेटमा डिस्कभरीले लगातार प्रभावशाली प्रदर्शन गर्दै अन्ततः ३–२ को नतिजासहित मनेहरा स्पोर्ट्स क्लबलाई पराजित गर्‍यो ।

त्यसपछिका खेलमा भने तालिकाअनुसार प्रतिस्पर्धा नहुँदा वाकओभर मार्फत टिमहरू अघि बढे । दोस्रो खेलमा माइस्ट्री युवा क्लबले उर्माविरुद्ध वाकओभर जित्यो । त्यस्तै, तेस्रो खेलमा लक्ष्मी प्रिन्टले राम जानकी प्रोपर्टीविरुद्ध तथा चौथो खेलमा कमल रेष्टुरेन्टले टाउन बजारविरुद्ध वाकओभरको आधारमा विजयी हुँदै अर्को चरणमा स्थान बनाए ।

प्रतियोगिताका खेल संयोजक भगिरथ रानाका अनुसार भोलि (असोज ६ गते) क्वाटर फाइनलका सम्पूर्ण खेलहरू सञ्चालन हुने छन् । उनका अनुसार प्रतियोगिताले स्थानीय युवामा खेलप्रति उत्साह जगाउने र खेलमार्फत समुदायलाई जोड्ने उद्देश्य लिएको छ ।

समाजको चेतना र खेलकुदको प्रवर्द्धनलाई एकैसाथ अघि बढाउने लक्ष्यसहित सञ्चालन गरिएको जुगेडा कपमा दैनिक रूपमा स्थानीयबासीको उल्लेख्य भीड हुने गरेको छ । आयोजकले विजयी टिमलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply