हेमा भट्ट, असाेज ५, कञ्चनपुर —
निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ जिल्ला अधिवेशन भदौ २१ गते उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संघका सदस्यहरूको सक्रिय सहभागिता तथा सर्वसम्मत सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिएको हो।
यस अधिवेशनले निर्माण व्यवसायीहरूको हकहितको रक्षा गर्ने, निर्माण कार्यलाई अझ व्यवस्थित, गुणस्तरीय र पारदर्शी बनाउन अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।
यस अधिवेशनबाट अध्यक्षमा श्री पुष्पराज अवस्थी निर्वाचित हुनु भएको छ।
त्यसैगरी—
वरिष्ठ उपाध्यक्ष : देब बहादुर चन्द
उपाध्यक्ष : यज्ञराज बैज
महासचिव : देबीदत्त भट्ट
सचिव : बृज किशोर चन्द
कोषाध्यक्ष : तेज बहादुर चन्द
सह–कोषाध्यक्ष : हेम महरा
सदस्य पदमा गणेश सुवेदी, महेश जोशी, दिपक काकी, नविन चन्द, सन्तोष खत्री, मनिराज रेग्मी, चन्द्रसिंह काकी र डम्बर दत्त पन्त निर्वाचित भएका छन्।
अधिवेशनमा बोल्ने वक्ताहरूले निर्माण क्षेत्रलाई देश विकासको आधारस्तम्भका रूपमा लिँदै समयमै र गुणस्तरीय काम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए। नयाँ नेतृत्वप्रति संघका सदस्य, स्थानीय निकायका प्रतिनिधि तथा सरोकारवालाले विश्वास व्यक्त गर्दै कञ्चनपुरलाई मात्र नभई सम्पूर्ण सुदूरपश्चिम प्रदेशको विकासमा समेत टेवा पुर्याउने अपेक्षा राखेका छन्।
नव–निर्वाचित अध्यक्ष अवस्थीले पदभार ग्रहण गरेपछि आफ्नो छोटकरी प्रतिक्रिया दिँदै, “हामी सबै निर्माण व्यवसायीहरूको साझा मञ्चबाट पारदर्शी, समयमै र गुणस्तरीय काम गरेर देश निर्माणमा योगदान पुर्याउने हाम्रो प्राथमिकता हुनेछ,” भन्नुभयो।
अधिवेशनले निर्माण व्यवसायीबीचको आन्तरिक ऐक्यबद्धता बलियो बनाउन, प्राविधिक दक्षता अभिवृद्धि गर्न र नयाँ पुस्तालाई निर्माण क्षेत्रमा आकर्षित गर्न दीर्घकालीन योजना बनाउनुपर्नेमा समेत जोड दिएको छ।
सदस्यहरूको उत्साह, सहकार्य र सर्वसम्मत निर्णयले सम्पन्न भएको यस अधिवेशनलाई सहभागीहरूले “एकताबद्ध व्यवसायीहरूको साझा पर्व” को संज्ञा दिएका छन्।