हेमा भट्ट
कञ्चनपुर, कृष्णपुर — कृष्णपुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक वन तथा स्थानीय उद्योगी–व्यापारीहरूले सहयोगी भावना प्रकट गर्दै नगरपालिका कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गर्ने परम्परा निरन्तर अघि बढाइरहेका छन्।
हालै कृष्णपुर–८ मा रहेको श्री वीरेन्द्र सामुदायिक वन उपभोक्ता समितिले नगरपालिकालाई १० थान प्लास्टिकका कुर्सी सहयोग स्वरूप हस्तान्तरण गरेको थियो। समितिकी अध्यक्ष धर्मा भाटले नगर प्रमुख हेमराज ओझालाई कुर्सी हस्तान्तरण गर्दै सामुदायिक वनको भूमिका केवल वन संरक्षणमा मात्र नभई सामाजिक र संस्थागत विकासमा पनि जोडिएको बताउनुभयो।
यसैगरी नगरपालिकाको प्रशासनिक कामलाई सहज बनाउन दिनहुँजसो सामुदायिक वन, उद्योगी–व्यापारी तथा सहयोगी भावना भएका व्यक्तिहरूले कम्प्युटर, दराज, टेबल, प्रिन्टरलगायतका आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन्।
नगर प्रमुख ओझाले यस्ता निरन्तर योगदानलाई उच्च सम्मान गर्दै यसले नगरपालिका र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाको आवश्यकतामा सामुदायिक संस्था र स्थानीय व्यवसायीहरू निरन्तर खडा हुनु सकारात्मक उदाहरण हो। यसबाट विकास र सेवाप्रवाह दुवै क्षेत्रमा सहजता आएको छ।”
सामुदायिक वन र सहयोगी मन भएका व्यक्तिहरूको निरन्तर समर्थनका कारण कृष्णपुर नगरपालिकाले प्रशासनिक तथा सामाजिक सेवामा दक्षता अभिवृद्धि गर्दै आएको छ।