कञ्चनपुर, असोज ९
जेन–जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको तोडफोड र आगजनीबाट नष्ट भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि बेलौरी नगरपालिकाले सहयोग गर्ने भएको छ।
नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक संकलन गर्ने निर्णय गरेको छ। साथै, नगरपालिकाको आन्तरिक कोषबाट थप २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय बिहीबार बसेको कार्यपालिका बैठकले गरेको हो।
मेयर पोतिलाल चौधरीका अनुसार असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको पुनर्निर्माण कोषमा योगदान गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। “देशको विषम परिस्थितिलाई सामुन्ने गर्न नगरपालिकाले अग्रसरता लिएको छ,” मेयर चौधरीले भने।
नगरपालिकाले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। त्यस्तै, सुशासनलाई प्राथमिकता दिँदै आन्दोलनरत पक्षसँग वार्ताको पहल गर्ने तथा कर्मचारीलाई नियमित काममा फर्किन अनुरोध गर्ने निर्णय पनि गरिएको छ।
बेलौरी नगरपालिकाले आन्दोलनका दिनमा नगरभित्र सरकारी, निजी तथा सार्वजनिक सम्पत्तिलाई ठूलो क्षति हुनबाट जोगाउन नगरबासीले देखाएको संयमता र सहयोगप्रति आभार प्रकट गरेको छ।