हेमा भट्ट, असोज १०, कञ्चनपुर –
दशैंको रमाइलो मौकामा कञ्चनपुरको कृष्णपुर–९, राजघाटमा यसपालि रातैभरी रोमाञ्च छाउनेछ। रिभर साइड स्पोर्ट्स क्लबको मैदानमा आयोजना हुने Night Penalty Shootout प्रतियोगिता गाउँकै आकर्षण बनेको छ।
अघिल्ला दिनमा सामान्य अभ्यास मात्र हुने यो मैदान असोज १० गते साँझदेखि उज्यालो बत्तीमुनि उत्साह, तालि र चिच्याहटको तरंगले गुञ्जिनेछ।
पेनाल्टी सुट आउट भनेको केवल गोल गर्ने वा बचाउने मात्र होइन, मुटु धड्काउने क्षण हो।
गोलपोस्ट अगाडि उभिएको गोलरक्षकको आँखा बलतिर, दर्शकको चिच्याहट कानमा, र स्ट्राइकरको काँप्ने खुट्टा – यतिबेला सारा वातावरण एकैछिन श्वास रोकेर हेर्ने हुन्छ। गोल भयो भने गाउँभर गुञ्जिने तालि, बचियो भने अझै ठूलो हुटिङ्ग।
“फुटेर होइन, जुटेर जाऔं, सेवा नै धर्म हो” भन्ने नाराले प्रतियोगिताले केवल खेल मात्र होइन, सामाजिक एकताको सन्देश पनि दिनेछ। युवालाई जुटाएर गाउँलाई गौरव दिलाउने आयोजकहरूको विश्वास छ।
प्रथम टिमलाई रु. ५०,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र।
द्वितीय टिमलाई रु. २५,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र।
उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्कोररलाई विशेष मेडल।
महिला खेलाडीका लागि इन्ट्री शुल्क निःशुल्क राखिएकोले कार्यक्रम अझ समावेशी बनेको छ।
खेलमैदानमा मात्रै होइन, सांस्कृतिक मञ्चमा पनि समान उत्साह हुनेछ। नृत्य, गीत र स्थानीय कलाकारका प्रस्तुतीले दशैंको रमाइलोलाई थप रंग दिनेछन्।
प्रतियोगिताको उद्घाटन कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरले गर्नेछन्। आयोजकहरूले सम्पूर्ण वडावासीलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।