हेमा भट्ट, असोज १०, कञ्चनपुर – “फुटेर होइन जुटेर जाउँ” भन्ने प्रेरणादायी नारासहित कृष्णपुर नगरपालिका–९, राजघाटमा नाइट पेनाल्टी सुटआउट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। दशैं–तिहारको रमाइलो माहोललाई अझ रंगीन बनाउन र स्थानीय युवाबीच भाईचारा तथा सहकार्यलाई बलियो बनाउन आयोजित प्रतियोगिता अहिले गाउँकै प्रमुख आकर्षण बनेको छ।
उद्घाटन कार्यक्रम युवा एकता अभियानका अध्यक्ष इन्द्र देव बोहराको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि वडा अध्यक्ष कैलाश बलायरले खेलमैदानमा पहिलो बल प्रहार गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे।
उद्घाटन भाषणमा वडा अध्यक्ष बलायरले भने :
“दशैं–तिहार परिवार र समाजलाई नजिक ल्याउने चाड हुन्। खेलकुदले त्यही एकतालाई अझ मजबुत बनाउन सहयोग गर्छ। युवालाई अनुशासन, सद्भाव र सहकार्यतर्फ अभिमुख गराउने यस्ता प्रतियोगिता गाउँको गौरव बनेका छन्।” उनले वडा कार्यालयको तर्फबाट खेलकुद क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।
त्यस्तै, युवा एकता अभियानका अध्यक्ष बोहराले भने :
“हाम्रो अभियान खेलकुदमार्फत युवाबीचको भाईचारा र सहकार्यलाई बढावा दिने लक्ष्यमा केन्द्रित छ। यो नाइट सुटआउटले समाजका सबै तहलाई नजिक ल्याउनेछ।”
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक पुरस्कार राखिएको छ :
प्रथम टिम : रु. ५०,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र
द्वितीय टिम : रु. २५,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र
रातको उज्यालोमा भएको खेल हेर्न स्थानीय बासिन्दा ठूलो संख्यामा सहभागी भए। दर्शकको उत्साह र खेलाडीहरूको जोशले गाउँको वातावरण साँच्चै चाडपर्वझैं उल्लासमय बनेको थियो। परिवारसहित आएका दर्शकले खेलसँगै मेलमिलाप र भेटघाटको रमाइलो पनि मनाए।
यसअघि पनि रिभर साईड स्पोर्ट्स क्लबले विभिन्न सामाजिक तथा खेलकुद गतिविधि गर्दै आएको थियो। तर यसपटकको नाइट पेनाल्टी सुटआउट विशेषगरी दशैं–तिहारलाई लक्षित गरी आयोजना गरिएको महत्त्वपूर्ण कार्यक्रम भएको आयोजकले बताए।
कार्यक्रममा समाजसेवी प्रेम बलायर, समाजसेवी बासुदेव जोशी, स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वनका अध्यक्ष तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन शिक्षक चन्द्र बहादुर महराले जिम्मेवारीपूर्वक गरेका थिए। उनले बीचबीचमा प्रतियोगिताको महत्वबारे सुझावमूलक टिप्पणी गर्दै कार्यक्रमलाई अझ जीवन्त बनाए। स्वागत मन्तव्य युवा एकता अभियानका सल्लाहकार संयोजक प्रेम बलायरले राखेका थिए भने, प्रतियोगिता सञ्चालनका लागि अनुभवी शिक्षक तथा कोच डम्बर खड्काले खेलाडीलाई नेतृत्व गरे। यसपटकको तयारीमा महिला टिमहरूको सहभागिता पनि उल्लेखनीय बनेको छ।
नाइट पेनाल्टी सुटआउटले केवल खेलकुदमै सीमित नभई समाजमा एकता, भाईचारा र सद्भाव फैलाउने सन्देश दिएको छ। दशैं–तिहारको रमाइलो वातावरणमा स्थानीय बासिन्दाले अनुभव गरेको यो उल्लास अब गाउँको स्मरणीय क्षण बन्ने निश्चित देखिन्छ।