हेमा भट्ट, असोज ११, कञ्चनपुर –
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ र ६ मा फैलिएको सिंहपुर सामुदायिक वन उपभोक्ता समूहले आफ्नो १४औं वार्षिक साधारणसभा शनिबार भव्यता र उत्साहपूर्वक सम्पन्न गरेको छ।
सभाको अध्यक्षता समूहका अध्यक्ष जोगराज चौधरीले गरेका थिए। कार्यक्रममा पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय महेश दत्त जोशी प्रमुख अतिथिको रूपमा सहभागी भए भने कृष्णपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष बाबुराम चौधरी, डिभिजन वन कार्यालय महेन्द्रनगरका प्रमुख, सहजीकरण समितिका उपाध्यक्ष पुनाराम चौधरी, पिपरिया सब–डिभिजनका फरेष्ट देवीसिंह भाट तथा जिल्लाका विभिन्न सामुदायिक वनका अध्यक्ष र प्रतिनिधिहरूले उपस्थित भएर साधारणसभाको गरिमालाई अझ बढाएका थिए।
.
उक्त सभामा वनदेवी, उग्रतारा, महाकाली, एकता, प्रगति, वीरेन्द्र, जानकी, गौरा, सीता, हरियाली लगायतका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसले सिंहपुर सामुदायिक वनलाई जिल्ला र प्रदेशकै नमुना वन बनाउन सबैको चासो रहेको प्रष्ट पार्यो।
कार्यक्रमको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। उपाध्यक्ष जयराज भण्डारीले स्वागत मन्तव्य प्रस्तुत गर्दै सिंहपुर वनको यात्रा, योगदान र चुनौतीबारे संक्षिप्त जानकारी दिए। कार्यक्रमको कुशल सञ्चालन लोकबहादुर महराले गरेका थिए।
कोषाध्यक्ष दानबहादुर रानाले आय–व्यय विवरणसहित वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षण, जैविक विविधता, पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माण र समुदाय सशक्तीकरणमा सिंहपुर सामुदायिक वनको कामलाई अझ प्रभावकारी बनाउन जोड दिए। उनले “वनको सुरक्षा र उपयोग दुबैमा सन्तुलन कायम गर्दै सामुदायिक वनलाई प्रदेशकै नमुना वन बनाउन निरन्तर प्रयास भइरहेको छ,” भने।
माननीय महेश दत्त जोशीले सामुदायिक वनले स्थानीय समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै यसको संरक्षण र व्यवस्थापनलाई अझ दिगो बनाउन आग्रह गरे।
“सिंहपुर सामुदायिक वन कञ्चनपुरको मात्र होइन, प्रदेशकै गौरव बन्न सक्छ। यो सबैको साझा सम्पत्ति हो, यसलाई जोगाउनु र सही तरिकाले उपयोग गर्नु हाम्रो कर्तव्य हो,” उनले भने। साथै उनले दशैं–तिहारको शुभकामना दिँदै आगामी दिनमा सामुदायिक वनलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीसँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिए।
वडा नं. ६ का अध्यक्ष बाबुराम चौधरीले पूर्व प्रदेशसभा सदस्य जोशीको कार्यकालमा प्राप्त बजेटले फुटबल मैदान निर्माण भई सयौँ युवालाई खेलमा संलग्न हुन सहज भएको बताउँदै आभार व्यक्त गरे। उनले सिंहपुर वनमा अहिलेसम्म कुनै विवाद नभएको र अडिट रिपोर्ट, अनुमानित बजेट लगायत सबै प्रक्रियामा पारदर्शिता कायम गर्दै साधारणसभा गरिँदै आएको जानकारी पनि दिए।
सहजीकरण समितिका उपाध्यक्ष पुनाराम चौधरीले दिगो वन व्यवस्थापन र समुदाय–वन सहकार्यबारे सुझाव प्रस्तुत गरे। अन्य अतिथिहरूले समेत सामुदायिक वनले रोजगारी सिर्जना, महिला सशक्तीकरण, वातावरणीय संरक्षण र सामाजिक विकासमा पु¥याएको योगदानलाई उच्च मूल्यांकन गरे।
कार्यक्रमलाई अझ आकर्षक बनाउन विभिन्न स्थानीय कलाकारहरूले नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। बीच–बीचमा हरेक प्रस्तुतिलाई सम्मानस्वरूप खाजा खर्च प्रदान गरिएको थियो।
त्यस्तै, समूहकी सचिव शारदा रानाले वृद्ध सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको जानकारी दिइन्। यसले समुदायमा आपसी सम्मान र सामाजिक समरसताको सन्देश प्रवाह गरेको सहभागीहरूको धारणा थियो।
सिंहपुर सामुदायिक वन उपभोक्ता समूहले विगत १४ वर्षयता संरक्षण, पर्यावरण सन्तुलन, पूर्वाधार निर्माण, पर्यटन प्रवर्द्धन र सामुदायिक विकासमा पुर्याएको योगदानले यसलाई कञ्चनपुरकै मात्र नभई सुदूरपश्चिम प्रदेशकै नमुना सामुदायिक वनका रूपमा स्थापित गर्ने दिशामा अघि बढाएको छ।