कञ्चनपुर, असोज २३
कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई उपचार खर्च सहयोग गरिएको छ।
जिल्लाका क्रियाशील पत्रकारहरूले गत वर्ष २०८१ साल चैत्रमा होली खेल्दा संकलन भएको रकमबाट पत्रकार विवशको उपचारका लागि सहयोग गरेका हुन्। पेटको रोगका कारण केही दिनदेखि महाकाली अस्पतालमा उपचाररत रहेका विवश आर्थिक अभावले उपचारमा समस्या भोगिरहेका थिए।
उनीप्रति सहानुभूति जनाउँदै क्रियाशील पत्रकारहरूको टोलीले सहयोग स्वरूप नगद ५ हजार रुपैयाँ प्रदान गरेको हो। उक्त सहयोग नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकायाले अस्पताल पुगेर हस्तान्तरण गरेका हुन्।
विकल्प दैनिकका सम्पादक तथा एमाले निकट प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य विवश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनले समाजका समसामयिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरूमा निरन्तर कलम चलाउँदै आएका छन्।
सहकर्मी बिरामी परेको थाहा पाएपछि जिल्लाका पत्रकारहरू अस्पताल पुगेका थिए। सहकर्मीहरूको माया र सहयोग पाउँदा पत्रकार विवशले सबैप्रति आभार व्यक्त गर्दै भने, “असक्त अवस्थामा सहकर्मीहरूबाट पाएको साथ र सान्त्वनाले मलाई थप हौसला मिलेको छ।”