पिपरियाका तरकारी वाला मुलि राना : पसिना बेचेर सपना जोगाउने मान्छे

बाल्यकालदेखि बुढेसकालसम्म साइकलमै तरकारी बोकेर गाउँ–गाउँ पुगेका श्रमवीरको जीवन–संघर्ष

रैकवार खबर, असोज २३
कञ्चनपुर- कृष्णपुर नगरपालिका–९ पिपरिया निवासी ७३ वर्षीय मुलि रानाको नाम गाउँका स–सानो बच्चादेखि बुढाबुढीसम्म सबैलाई थाहा छ। कोही उनलाई “तरकारी वाला काका” भन्छन्, कोही “मुलि दाइ” तरकारी बोकेर साइकलमा गाउँ–गाउँ हिँड्ने उनको मुस्कान र विनम्र व्यवहारले वर्षौँदेखि सबैको मन जितेको छ। यही सरलता, यही इमानदारी र यही निरन्तर परिश्रम नै हो— जसले उनलाई असल मान्छेको प्रतीक बनाएको छ।

सात वर्षको उमेरदेखि सुरु भएको यात्रा-मुलि राना अहिले ७३ वर्षका छन्। उनी सम्झिन्छन्—“जब म सात वर्षको थिएँ, त्यही बेला पहिलोपटक गौरीफन्टा बजारसम्म गएँ। पैदलै हिँड्थें, बाटोमा झाडी र जंगल मात्र हुन्थ्यो।त्यो समयमा गौरीफन्टा पुग्ने बाटो जोखिमपूर्ण थियो। सवारीसाधन विरलै देखिन्थे। मुलि पिपरिया–राजघाट–घोडाघाट हुँदै मोहना नदी पार गरेर भारततिर लाग्थे। कहिले कम्मरसम्म पानीमा हिँड्दै, कहिले हिलोमा डुब्दै— तरकारी ल्याउने उनको यात्रा यत्तिकै साहसिक थियो।

गाउँगाउँमा पसल, गाउँगाउँमा चिनारी- गौरीफन्टाबाट उनी आलु, प्याज, सुख्खा खुर्सानी, कहिलेकाहीँ गुड पनि ल्याउँथे। त्यसपछि पिपरिया, राजघाट, विचवा, कलुवापुर, चपरतला, सान्तिपुर, मजगाउँ र कहिलेकाहीँ धनगढीसम्म पुग्थे। गाउँमा उनी आइपुग्दा बालबालिका “तरकारी आया!” भन्दै खुशी हुन्थे। गाउँका हरेक घरसँग उनको माया र भरोसाको सम्बन्ध बाँधिएको थियो। त्यो बेला १ रुपियाँमा ५ किलो आलु र ५ किलो प्याज पाइन्थ्यो — मुलि राना, तरकारी व्यापारी ।

साइकलमा जीवन बोकेर हिँड्ने मानिस- मुलिको साइकलमा कहिल्यै विश्राम छैन। घाम होस् वा वर्षा, धुलो होस् वा हिलो— उनी सधैं तरकारी बोकेर हिँडिरहन्छन्। उनको अनुहारमा सधैं मुस्कान हुन्छ, बोलीमा मिठास। कहिल्यै कसैसँग झगडा गरेनन्, कहिल्यै रिसाएनन्। व्यापार मात्र होइन, उनी गाउँका सबैका साथी र विश्वासिला बनेका छन्।

मोहना नदी र बाढीका सम्झना- तर त्यो समय सजिलो थिएन। बाढी आउँदा मोहना नदी तीन–तीन पटक पार गर्नुपर्थ्यो। कहिले साइकल काँधमा बोकेर, कहिले डुङ्गामा राखेर।

“बाढीको भेलमा किनारमा बसेर पर्खिएका ती पल अहिले पनि मनमा झल्झली आउँछन्,” उनी सम्झन्छन्। कहिलेकाहीँ बाटोमा अपमान, असहयोग र दु:ख पनि सहनुपर्थ्यो, तर उनले कहिल्यै आफ्नो इमानदारी र शान्त स्वभाव गुमाएनन्।

परिवर्तनका वर्ष, निरन्तरता भने उस्तै- समय बदलियो, गाउँमा सडक बने, बजार विस्तार भयो, खेतमा तरकारी फल्न थाले। अहिले मुलि राना आफ्नै बारीमा आलु, प्याज, साग, टमाटर फलाउँछन् र गाउँमै बेच्न थालिसकेका छन् “अब त सजिलो भएको छ,” उनी हाँस्दै भन्छन्, “तर ती पुराना दिनहरू, नदी पार गर्ने संघर्ष र सँगै हिँडेका मान्छेहरू कहिल्यै बिर्सन सक्दिनँ।”

जीवनको पाठ : श्रम र सरलता नै साँचो धन- पिपरियाको हरियो खेत, जंगल किनारका गोठ र हिलो–धुलो सँगै बितेको जीवन— यही हो मुलि रानाको सम्पत्ति। न घरको सम्पत्ति, न जग्गाको गर्व; तर अनुशासन, इमान र परिश्रममा अडिएको जीवन। उनको कथा गाउँका नयाँ पुस्ताका लागि प्रेरणा बनेको छ।

तरकारी वाला मुलि रानाले रैकवार खबर दैनिकसँगको संवादमा आँखा रसाउँदै किसानको पीडा सुनाए। बाल्यकालदेखि बुढेसकालसम्म खेत र पसिनासँग बाँधिएको जीवन बोकेका उनले आजको बजार व्यवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे “हामी किसानले बिहान–बेलुका माटो सिँचौं, पसिनाले धान सिँचौं, तर बजारमा हाम्रो मोल छैन,—अहिले किसानलाई निराशा बढी छ। उनी भन्छन् —“किसान मरे भने गाउँ , देश बाँच्दैन। खेत बाँझा भए देश बन्छ र?”

मुलि रानाको यो शब्दमा केवल वृद्धको पीडा मात्र होइन, हजारौँ किसानको मौन वेदना लुकेको छ।

तरकारी बोकेर जीवनभर हिँडेका यी वृद्ध किसान आज पनि यही प्रश्न गर्दैछन्“हामीले देश खुवायौं, अब देशले हामीलाई सम्झिन्छ कि? मुलि रानाजस्ता श्रमशील, इमानदार र शान्त आत्माहरू नै गाउँको साँचो पहिचान हुन्।

उनले न लेखे पनि, उनको जीवन आफैंमा एउटा जीवित जीवनी हो — जुन पुस्तौँ पुस्तासम्म बोलिरहनेछ। विशेष संवाददाता, रैकवार खबर दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply