विरेन्द्र सामुदायिक वन उपभोक्ता समूहको सातौँ वार्षिक साधारण सभा सम्पन्न

हेमा भट्ट, असोज २६, कञ्चनपुर —
कृष्णपुर नगरपालिका–८, बिचवास्थित श्री विरेन्द्र सामुदायिक वन उपभोक्ता समूहले “समृद्धिका लागि दिगो वन” भन्ने मूल नारासहित आफ्नो सातौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ।

वि.सं. २०५५ सालमा स्थापना भएको समूहले वन संरक्षण, वृक्षरोपण र वातावरणीय सन्तुलनमा निरन्तर योगदान दिँदै आएको छ।

कार्यक्रमको सभापतित्व समूहकी अध्यक्ष धर्मा भाटले गर्नुभयो भने उद्घाटन प्रमुख अतिथि कृष्णपुर नगरपालिका–८ का वडा अध्यक्ष दिनेश खड्काले व्यानर वाचन गरी गर्नुभयो। उद्घाटनका क्रममा उहाँले सामुदायिक वन संरक्षणमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै “रुख रोपौं, वन जोगाऔं” अभियानलाई निरन्तरता दिन सबैलाई आग्रह गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सब–डिभिजन वन कार्यालय पिपरियाका मणि दत्त भट्ट, वडा सदस्य कृष्णा लुहार, सीता सामुदायिक वनका अध्यक्ष तथा एनफेकेफन सुदूरपश्चिम प्रदेश महासचिव पुनाराम चौधरी, जानकी सामुदायिक वनका अध्यक्ष तथा प्रदेश सचिव चन्द्र प्रकाश भट्ट, वनदेवी सामुदायिक वनका अध्यक्ष तथा एनफेकेफन कञ्चनपुर जिल्ला महासचिव निरज भण्डारी, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना, गौरा देवी सामुदायिक वनका उपाध्यक्ष गणेश प्रसाद जोशी, प्रगतिशील सामुदायिक वनका अध्यक्ष छोटेलाल चौधरी तथा सीता सामुदायिक वनका उपाध्यक्ष जितबहादुर बोहरा लगायतका सरोकारवाला, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजीवी र स्थानीय कलाकारहरूको उपस्थिति रहेको थियो।

समूहकी सल्लाहकार रुपा भट्टले स्वागत मन्तव्य राख्नुभयो भने सञ्चालन चन्द्र प्रकाश भट्टले गर्नुभएको थियो। अतिथिहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो।

समूहका कोषाध्यक्ष धिरेन्द्र मल्लले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो र सोही क्रममा आय–व्यय विवरण पनि सार्वजनिक गरिएको थियो।

विशिष्ट अतिथि पुनाराम चौधरीले सामुदायिक वन ऐन र नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समुदायको सक्रियता आवश्यक रहेको बताउँदै दिगो वन व्यवस्थापनको आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो –

जंगलमा पुराना रुखहरू छन्, तर नयाँ उमेरका बोट बिरुवा नउम्रँदा भविष्यका लागि चुनौती उत्पन्न भएको छ। सामुदायिक वनको संरक्षण समितिले मात्र होइन, उपभोक्ताहरूले पनि जिम्मेवारीपूर्वक हातेमालो गर्नुपर्छ।

वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले समयमै साधारणसभा सम्पन्न गर्नु राम्रो व्यवस्थापनको उदाहरण भएको उल्लेख गर्दै समूहले मेष वायर लगाउनेदेखि नमुना पलायन वन निर्माणसम्मका उल्लेखनीय काम गरेको बताउनुभयो।

सब–डिभिजन वन कार्यालयका मणि दत्त भट्टले दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदाय र पिछडिएका वर्गसँग समन्वय गर्दै सामुदायिक वनको नीतिगत योजना अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

विरेन्द्र सामुदायिक वन उपभोक्ता समूहमा हाल ६ सयभन्दा बढी उपभोक्ता रहेका छन्। सभाले आगामी वर्षका लागि नयाँ कार्ययोजना पारित गर्दै वृक्षरोपण विस्तार, जैविक विविधता संरक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

कार्यक्रममा राष्ट्रिय कलाकार लक्ष्मी रानाले रानाथारु भाषामा होरी गीत, नागार्जुन दिनेश र पदम कुमार विसीले प्रस्तुत गरेका देउडा गीत तथा नृत्यले वातावरण झनै रमाइलो बनाएको थियो। राष्ट्रिय मोडेल जानकी सिनालको नृत्य प्रस्तुतिले समेत दर्शकको मन जित्यो।

समापन मन्तव्यका क्रममा अध्यक्ष धर्मा भाटले सामुदायिक वनको नेतृत्व महिलाले गर्नु गौरवको विषय भएको बताउँदै सबै उपभोक्ताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भनिन्

उपभोक्ताहरूको साथ र सहयोगकै कारण हामीले यो वनलाई दिगो दिशातर्फ लैजाने बाटो पत्ता लगाएका छौँ।

कार्यक्रम नाचगान र सांस्कृतिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply