हेमा भट्ट, असोज २८, धनगढी
राष्ट्रिय अपाङ्ग महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अविलेख फाउन्डेसनका संस्थापक डा. विरेन्द्रराज पोखरेलले सुदूरपश्चिम प्रदेशमा अपाङ्गता मैत्री संरक्षण कार्यक्रम विस्तार गरिने बताएका छन्।
उनका अनुसार अविलेख फाउन्डेसनको कलर रेकर्डिङ नेटवर्क मार्फत अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सशक्तिकरण र समावेशी संरक्षणका क्षेत्रमा विगत केही वर्षदेखि प्रभावकारी काम हुँदै आएको छ। यो अभियान नेपाल सरकारको अपाङ्गता अन्तर्राष्ट्रिय निर्देशक समिति र विशेष शिक्षा परिषद् सँगको सहकार्यमा अघि बढाइएको हो।
डा. पोखरेलका अनुसार विश्व वन्यजन्तु कोष (WWF) को गभर्नमेन्ट कन्सर्भेसन फाइनान्स प्रोग्राम अन्तर्गत सन् २०२६ देखि २०२९ सम्मका योजनामा अपाङ्गता भएका व्यक्तिहरूलाई संरक्षण क्षेत्रका योजनामा समावेश गरिनेछ।
उनले भने, “हामी सुदूरपश्चिमका विभिन्न स्थानीय तहहरूमा ३–३ दिनका कार्यशाला सञ्चालन गर्दैछौं। म स्वयं योजना आयोगका संयुक्त सचिव डा. किरण रुपाखेती र WWF का प्रतिनिधि शेखर चौधरीसँगै समुदायमा पुगेर प्रत्यक्ष काम गरिरहेको छु। यस अभियानले अपाङ्गता भएका व्यक्तिहरूलाई संरक्षण क्षेत्रमा प्रत्यक्ष सहभागी गराउने अवसर सिर्जना गरेको छ, जुन हाम्रो लागि गर्वको विषय हो।”
CFCC सामुदायिक वन समन्वय समिति र सरोकारवाला संस्थासँगको सहकार्यमा WWF ले सञ्चालन गरेका परियोजनाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहभागी संरक्षण, आर्थिक सशक्तिकरण र प्रत्यक्ष लाभका दृष्टिले जोड्ने प्रयास भइरहेको उनले बताए।
डा. पोखरेलका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका विभिन्न पालिकाहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षण, रोजगारी र आर्थिक अवसरमा सुधार देखिएको छ। तर, उनले प्रदेश सरकारले बनाएको नीति र कार्यक्रम स्थानीय तहमा प्रभावकारी रूपमा नपुगेकोप्रति चिन्ता व्यक्त गरे।
उनले भने, “नीति निर्माण र कार्यान्वयनबीचको दूरी घटाउन आवश्यक छ। स्थानीय सरकार र प्रदेशबीचको सहकार्य बलियो भए मात्रै अपाङ्गता भएका नागरिकहरू वास्तविक रूपमा सशक्त बन्न सक्छन्।”
मानव र वन्यजन्तुबीचको द्वन्द्वमा अपाङ्गता भएका व्यक्तिहरू बढी जोखिममा पर्ने उल्लेख गर्दै उनले दृष्टिविहीन तथा श्रवण अपाङ्गता भएका व्यक्तिहरूका लागि कलर र लाइट सिग्नल प्रणाली अनिवार्य गर्नुपर्ने सुझाव दिए। “यस्ता प्रविधिले उनीहरूको सुरक्षा र चेतावनी पहुँच सुनिश्चित गर्न मद्दत गर्छ,” उनले थपे।
डा. पोखरेलले सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिहरू उद्यमशीलता, संरक्षण र आर्थिक उत्पादनमूलक कार्यमा संलग्न हुन थालेको देख्दा आत्मसन्तोष महसुस भएको बताए। उनले योजना आयोगका संयुक्त सचिव डा. किरण रुपाखेती, WWF नेपालका प्रतिनिधि शेखर चौधरी र आभारी फाउन्डेसनलाई सहकार्यका लागि धन्यवाद दिँदै आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यापक रूपमा विस्तार गरिने जानकारी दिए।
विश्व वन्यजन्तु कोष (WWF) नेपालले जैविक विविधता संरक्षण प्रयासमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको योजना निर्माण” विषयक अध्ययन प्रारम्भ गरेको छ।
यस अध्ययनमार्फत अपाङ्गता भएका व्यक्तिहरूको पहुँच, सहभागिता र सशक्तीकरणलाई संरक्षणका मुख्यधारमा ल्याउने उद्देश्य लिइएको छ। WWF नेपालका परामर्शदाता टोली प्रमुख डा. विरेन्द्रराज पोखरेलका अनुसार, यो अध्ययनको उद्देश्य जैविक विविधता संरक्षणमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता सुनिश्चित गर्न व्यावहारिक तथा समावेशी योजना तयार गर्नु हो।
यो अध्ययन WWF नेपालको “Resilience for People and Biodiversity” परियोजनासँग सहकार्यमा सञ्चालन भइरहेको छ, जसले अपाङ्गता भएका व्यक्तिहरू संरक्षणका कार्यक्रमहरूमा सहभागी हुन अवरोध सिर्जना गर्ने नीतिगत, संरचनात्मक र व्यवहारगत कारणहरूको पहिचान गर्नेछ। प्राप्त निष्कर्षका आधारमा दीर्घकालीन र अधिकारमुखी रणनीति निर्माण गरिने WWF नेपालले जनाएको छ।
संस्थाका अनुसार WWF नेपालले मानव अधिकार–आधारित दृष्टिकोण (Human Rights-Based Approach) अपनाएर आदिवासी जनजाति, महिला, दलित, जातीय अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई संरक्षणका साझेदारका रूपमा प्राथमिकता दिँदै आएको छ।
परामर्श प्रक्रियामा सहभागीहरूसँग गोप्य अन्तर्वार्ता लिइनेछ, जसमा उनीहरूको अनुभव, सहभागिता र आवश्यक पूर्वाधारका विषयमा जानकारी संकलन गरिनेछ। अध्ययन स्वेच्छिक हुने र सहमति पत्रमा हस्ताक्षर गरेपछि पनि कुनै पनि समयमा अध्ययनबाट बाहिरिन सकिने व्यवस्था गरिएको छ।
अध्ययनसम्बन्धी सम्पूर्ण प्रक्रिया एविलिस नेपाल नेटवर्कको प्राविधिक सहयोगमा सम्पन्न भइरहेको परामर्शदाता डा. पोखरेलले जानकारी दिए।