असोज ३०, कञ्चनपुर -नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।
गत फागुन–चैत्र महिनामा जिल्लाका क्रियाशील पत्रकारहरूले आयोजना गरेको होली खेलकुदबाट संकलित रकमबाट अध्यक्ष धामीलाई सहयोग गरिएको हो।
धामी हाल काठमाडौँस्थित केएमसी अस्पतालमा प्यान्क्रियाज ट्युमरको उपचाररत छन्। उपचारमा आर्थिक कठिनाइ भइरहेका बेला सहकर्मी पत्रकारहरूले संकलन गरेको रकमबाट ११ हजार रुपैयाँ सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा पूर्व महासंघ सचिव राजेन्द्र प्रसाद अवस्थीले सहकर्मी पत्रकार गम्भीर बिरामी परेका बेला सानो भए पनि सहयोग गर्न पाउनु गौरवको विषय भएको बताए।
‘सहकर्मीको पीडामा साथ दिनु हाम्रो दायित्व हो,’ अवस्थीले भने, ‘संकलित सानो रकमले औषधि खरिदमा सहयोग मात्र होइन, हौसला पनि प्रदान गर्छ।’
उनका अनुसार यसअघि पनि होली खेलकुदबाट संकलित रकम बिरामी पत्रकारहरूको उपचारमा सहयोग स्वरूप खर्च गरिएको थियो।
अपिटुडे दैनिकका प्रकाशकसमेत रहेका अध्यक्ष धामीको स्वास्थ्य लाभको कामना गर्दै कञ्चनपुरका पत्रकारहरूले एकता र सहकार्यका माध्यमबाट कठिन घडीमा साथ दिने परम्परा निरन्तरता पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।