५९ वर्षका राजु दमाई नागरिकता नपाउँदा सन्तानको भविष्य अन्धकारमा

कृष्ण केसी, असाेज ३०
बाँके- राप्ती सोनारी गाउँपालिका–५, गोरधुई (साविक विनौना–९) निवासी ५९ वर्षीय राजु दमाई नेपाली नागरिकताबाट वञ्चित छन्। आफ्नै जन्मभूमिमा जन्मिएर पनि नागरिकताको अधिकारबाट टाढा रहनु परेपछि आज उनका सन्तानको भविष्य समेत अन्धकारको घेरामा परेको छ।

राजुका पिता कृष्ण दमाई र काका गौरी दमाई दुई दाजुभाइ थिए। दाजु गौरी दमाईले नागरिकता पाए पनि कान्छा कृष्ण दमाई नागरिकता नपाई नै मृत्यु भए। त्यसयता, विपन्नता र पहुँचको अभावमा राजु दमाईको परिवारले पनि नागरिकता लिन सकेको छैन।

गरिबी र मजदुरीमा बितेको जीवनका बीच राजु दमाई कहिले आफ्नो गाउँमा त कहिले भारततिर ज्याला मजदुरीमा समय बिताउँदै आएका छन्। तर अब उनका सन्तान, बुहारी र नातिनीहरूले आफू जस्तो गैरनागरिक भएर जीवन बिताउन नपरोस् भन्ने चाहनाले उनी हरेक दिन गाउँपालिकाको कार्यालय धाउँदै आएका छन्।

उनकै जेठो काका गौरी दमाईका छोरा दौलत दमाईको परिवारले नागरिकता पाए पनि, कृष्ण दमाईका सन्तान भने अझै त्यस अधिकारबाट वञ्चित छन्। महिनौँदेखि गाउँका भद्रभलाद्मी, राजनीतिक दलका नेतासमक्ष गुहार माग्दा पनि समस्या समाधान हुन सकेको छैन।

राजु दमाई आँसु पुछ्दै भन्छन्, हामी यहीँ जन्मियौँ, यहीँ हुर्कियौँ, तर अझै पनि गैरनागरिक ठहरिन्छौँ। अब सन्तानले त यो पीडा भोग्न नपरोस् भन्ने मात्र चाहना हो।

प्रत्येक दिन आशाको त्यान्द्रो समात्दै गाउँपालिकाको ढोका ढकढकाउने राजु दमाई घर फर्किन्छन्—नागरिकता कहिले बन्छ भन्ने अनुत्तरित प्रश्न बोकेर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply