धनगढी — बेलडाडी गाउँपालिका–३ बैबाहका गणेश चौधरी करिब दुई वर्षअघि काम गर्ने क्रममा दुर्घटनामा परेर गम्भीर घाइते बनेका थिए। दीर्घ उपचारपछि पनि सामान्य अवस्थामा फर्किन नसकेका चौधरी अहिले पूर्ण रूपमा असक्त छन् र दैनिक गतिविधि पूरा गर्न परिवारको सहयोगमा निर्भर रहनुपरेको छ। कमजोर आर्थिक अवस्थाले चौधरी परिवारको दैनिकी झनै कठिन बन्दै गएको थियो।
यही परिस्थितिलाई बुझ्दै युवा समाजसेवी तथा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले व्यक्तिगत पहलमा चौधरी परिवारलाई सहयोग गरेका छन्। पन्तले गणेश चौधरीकी पत्नी श्रीदेवी चौधरीलाई एक थान ह्विलचेयर र नगद ११ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्।
सहयोगका क्रममा श्रीदेवी चौधरीले आँसु झार्दै सहयोगी सबैप्रति आभार व्यक्त गरिन्। सो सहयोग साइकल यात्री भरत विक्रम शाहको समन्वयमा प्रदान गरिएको पन्तले जानकारी दिएका छन्।
सहयोग प्राप्त भएपछि चौधरी परिवारले अब दैनिक सञ्चालन केही सहज हुने आशा व्यक्त गरेको छ।
