मन्दिरका लागि जग्गा दिएकी जसु तिरुवा– योगदान ठूलो, सम्मान शून्य

मनिसा सुनार, मंसिर १,
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, राजघाट शान्ति टोलको छेउमै एउटा पुरानो घर छ—जहाँ ९० वर्ष पार गरिसकेकी जसु तिरुवा आफ्नो जीवनका थुप्रै पीडा, संघर्ष र श्रद्धाका चोटिले भरिएका कथाहरू बिस्तारै सम्झिन्छिन्। शरीर कमजोर भइसकेको छ, हिडडुल गर्न गाह्रो छ, बोल्दा आवाज काँप्छ। तर मन? अझै पनि त्यही पुरानै भक्तिले उज्यालो।

जसु तिरुवाको जीवन कथा कुनै साधारण महिलाको कथा होइन। गरिबी, जंगल र जंगली जनावरसँगको डर, अभाव, आँसु, अनि त्यसमाथि असीम आस्था—यी सबै मिलेर बनेको छ उनको जीवनको अध्याय। २०२३ सालदेखि नै यस क्षेत्रमा बस्दै आएकी जसुले आफ्नो कठिन जीवनका बीच पनि समुदाय, धर्म र मानवीयताको लागि असाधारण योगदान गरेकी छिन्।

उच्चारण भएको एक वाक्य, जसले मन्दिर उभ्यायो- सात वर्षअघि, गाउँमा शिव मन्दिर बनाउने कुरा उठ्यो। तर कहाँ बनाउने? कसको जग्गा प्रयोग गर्ने? सबै दुविधामा थिए। त्यहीबीच जसु तिरुवाले सबैलाई थर्कमान बनाउँदै भनिन् “म दिनेछु! भगवान्का लागि मेरो जमिन लिनुस्।”

१५ धुर-यसरी नै जसुले आफ्नै परिवारको करिब ६० वर्षको मेहनतले जोडेको थोरै जग्गा श्रद्धाका नाममा अर्पण गरिन्। कान्छा छोरा धर्मराज तिरुवा सम्झिन्छन्, आमाको मन धेरै ठूलो थियो। भन्थिन—‘भगवान्का लागि केही गर्नै पर्छ, नत्र बाँच्नुको अर्थ कहाँ रह्यो?

यसै जग्गामा आज एक सुन्दर शिव मन्दिर उभिएको छ, जहाँ दैनिक दर्जनौं भक्तजन दर्शन गर्न पुग्छन्। कालो ढुंगामा शिवार्चना भइरहँदा त्यो मन्दिरको जगमा जसुको त्याग, आस्था र धैर्य चुपचाप ढुंगाजस्तै अडिग भएर बसेको छ।

गरिबी र अभावबाट उठेको मनको ठूलो दान- जसु तिरुवाको जीवन कहाली लाग्दो कठिनाइले भरिएको छ। जंगलको छेउमा बस्दा बेलुकीपख बाघचीतेको डर, अँध्यारोमा आगो बालेर रात धपाउनु पर्ने बाध्यता, नदीको पानी ल्याएर पिउने दिन, चामल–तरकारी मिसाएर पेट भर्ने संघर्ष—यी सबै उनका दैनिकीका हिस्सा थिए।

तर अभावले उनको मनको धनीपनलाई भने कहिल्यै घटाएन।उनी भन्थिन्,“हामी के लिएर जाने हो र? भगवान्का लागि दिएर जान्छु। यही नै ठुलो प्रसाद हो। तर… जसु तिरुवा स्वयं समाजबाट अदृश्य
समाजका लागि जीवनभरि योगदान गर्ने जसुलाई स्थानीय सरकार, सरोकारवाला, कुनै संस्थाले कहिल्यै औपचारिक सम्मान गरेनन्।
हिड्न गाह्रो, बोल्न गाह्रो, स्वास्थ्य दिनप्रतिदिन कमजोर। तर उनको योगदान? अझै पनि समाजका कागजात, सभामा, बजेटमा कतै उल्लेखित छैन।

धर्मराज तिरुवा पीडासहित भन्छन्—हामीले आमाको त्याग देख्यौं। तर कसैले मूल्य बुझेन। उहाँ बुढो हुँदै जानुभयो, तर उहाँको मन अझै बलियो छ। जसु तिरुवाको कथा एउटी वृद्धाको मात्र कथा होइन। यो त्यो समाजको कठोरता हो।
जहाँ दान, समर्पण र आस्था देखाउनेहरूलाई बिर्सने तर धेरै खोज्नेहरूको भीड छ।
जहाँ काम गर्नेहरू मेटिँदै जान्छन् र नाम मात्र गर्नेहरू माथि उठ्छन्।

जसु तिरुवा—उनी एउटा नाम मात्र होइनन्।
उनी सम्मानविहीन समर्पणको जिउँदो उदाहरण हुन्। मन्दिर बनाउने हातलाई सम्मान नदिने हाम्रो सामाजिक कमजोरीको दर्पण हुन्।

राजघाट शान्ति टोलमा अहिले पनि जसु मौन बस्छिन्—छेउमा घाम परे चुपचाप हात ताताउँछिन्, कहिलेकाहीँ मन्दिरतिर हेरेर आँखामा चमक ल्याउँछिन्।
उनका छोराहरूको एकै इच्छा छ—
आमाले देखेको सपना र योगदान समाजले देखिदियोस्, एकपटक मात्र भए पनि सम्मान गरिदियोस्।

९० वर्षको जीवन, असंख्य संघर्ष, असीम भक्ति।
मन्दिर उभ्याउने हात जसको,सम्मानबाट अझै टाढा। जसु तिरुवाको कथा—उनी जस्तै मौन, तर हृदय चिरकुट बनाउने गरी गहिरो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply