हेमा भट्ट, मंसिर ३
धनगढी – काठमाडौँ (एएनएफए) — काठमाडौँमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको शहीद स्मारक ‘सी’ डिभिजन क्वालिफायर–२०२५ का लागि मसुरिया फुटबल एकेडेमीका आदित्य चौधरी र कमल बिष्ट (विकास) चयन भएका छन्। एकेडेमीले दुवै खेलाडीलाई मंगलबार औपचारिक रुपमा विदाई गरेको हो।
कृष्णपुर नगरपालिका–९ चपरतला निवासी आदित्य चौधरी र जोरायल टोलका कमल बिष्ट एकेडेमीको आधिकारिक सूचीमा परेपछि राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्रिन तयारीमा छन्।


पहिलोपटक राष्ट्रिय लिग खेल्ने अवसर पाएपछि उत्साहित कमलले आफूलाई दिइएको विश्वासलाई मैदानमा उत्कृष्ट खेलमार्फत प्रमाणित गर्ने बताए। अनुशासन, फिटनेस र टिमवर्कलाई प्राथमिकतामा राखेर तयारी गरिरहेको उनले बताए।
पछिल्ला तीन महिनादेखि कडा प्रशिक्षणमा रहेका कमलबारे प्रशिक्षकले ऊर्जा, गति, बल–कन्ट्रोल र खेल बुझाइ उच्च रहेको प्रतिक्रियासहित दबाबमा समेत स्थिर प्रदर्शन गर्न सक्ने भएकाले अतिरिक्त जिम्मेवारी दिएको बताएका छन्।

उनको राष्ट्रिय सहभागिताबारे सार्वजनिक भएपछि कृष्णपुर–९ चपरतला क्षेत्रमा उत्साहपूर्ण वातावरण बनेको छ। स्थानीयले सामाजिक सञ्जालमार्फत बधाई दिँदै— उनले क्षेत्रको पहिचान राष्ट्रिय स्तरमा पुर्याउनेछन्—भनेका छन्।
सुदूरपश्चिममा पूर्वाधार र अवसर सीमित रहे पनि पछिल्ला वर्षमा यस क्षेत्रका खेलाडी निरन्तर राष्ट्रिय मञ्चमा उत्रिन थालेका छन्। आदित्य र कमलले यस्तो अवसरलाई आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने बताएका छन्।
मसुरिया फुटबल एकेडेमीले हाल रणनीति तथा फिटनेस तयारीलाई अन्तिम चरणमा पुर्याइरहेको जनाएको छ।


