हेमा भट्ट, १५ मंसिर
कञ्चनपुर — जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले “रैथानेमा गर्व गरौँ, स्थानीय उत्पादन र उपभोगमा जोड दिऔँ” भन्ने नारासहित तीन दिने ढकिया बनाउने सीप विकास तालिम सोमबारदेखि रैकवार विचवामा सुरु गरेको छ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त र १९ जिल्लामा सेवा विस्तार गर्दै आएको संस्थाले स्थानीय सीप, घरेलु उद्योग प्रवर्द्धन र महिला उद्यमशीलता सुदृढीकरणलाई लक्षित गर्दै तालिम सञ्चालन गरेको हो।
उद्घाटन कार्यक्रम कृष्णपुर–७ का वडा सदस्य बहादुर रानाले ब्यानर वाचन गर्दै सुरु गरेका थिए। शाखा प्रमुख नरेश बहादुर भुलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै उनले रैथाने सीपलाई उद्यममा रूपान्तरण गर्दै महिलालाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउनु तालिमको मुख्य उद्देश्य भएको बताए।

प्रमुख अतिथि वडा सदस्य रानाले स्थानीय उत्पादनको संरक्षण, प्रवर्द्धन र गाउँमै रोजगारी सिर्जनाका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै महिलाको आर्थिक निर्णय क्षमता बढाउन तालिम सहयोगी हुने धारणा राखे।

सगरमाथा बैंककी शाखा प्रमुख तारादेवी ओझा घरेलु उत्पादनको बजार सम्भावना बढिरहेको बताउँदै बैंकिङ क्षेत्र सामुदायिक उद्यममा सहकार्य गर्न तयार रहेको जानकारी दिइन्।
पहिलो दिन प्रशिक्षक हिरा चौधरीले कच्चा पदार्थ छनोट, डिजाइन, निर्माण प्रक्रिया, गुणस्तर मापदण्डदेखि बजार मूल्य निर्धारणसम्मको आधारभूत तथा व्यवहारिक शिक्षा प्रदान गरिन्। सहभागी महिलाले तालिमले आय–आर्जनको नयाँ सम्भावना देखाएको प्रतिक्रिया दिए।

जनउत्थान लघुवित्तले “स्वाधीन अर्थतन्त्रका लागि समावेशी वित्तीय प्रणाली” अभियानअन्तर्गत सीप विकास तथा महिला आर्थिक सबलीकरणमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
आयोजकका अनुसार पहिलो दिन सफलतापूर्वक सम्पन्न भएको तालिम दोस्रो र तेस्रो दिनमा व्यवहारिक अभ्यासमार्फत सहभागीहरूको सीप अझ सुदृढ गर्ने उद्देश्यसहित अघि बढाइनेछ।
