वनदेवी सामुदायिक वन उपभोक्ता समूहको नवौँ वार्षिक साधारण सभा सम्पन्न

मनिसा सुनार, २० मंसिर, कञ्चनपुर
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, राजघाटस्थित वनदेवी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो नवौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ। कार्यक्रम समूहका अध्यक्ष निरज भण्डारीको अध्यक्षता तथा वडा नम्बर ९ का वडा अध्यक्ष कैलाश बलायरको प्रमुख आतिथ्यमा पानसमा बत्ती बालेर औपचारिक रूपमा सुरु गरिएको थियो।

सभामा अध्यक्ष भण्डारीले वनदेवी सामुदायिक वनले विगत वर्ष सञ्चालन गरेका कार्य, योजनाहरू र प्राप्त उपलब्धिहरूबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे। उनले टुप्पा ताललाई समूहको “पहिचानका रूपमा” स्थापित गर्न गरिएको प्रयास, दुना–टपरी तथा कम्प्युटर तालिम, गुरु योजना र सामुदायिक वन विकास योजनाबाट स्थानीयले पाएको प्रत्यक्ष लाभबारे उल्लेख गरे। भण्डारीले उपभोक्ताले वर्षमा एकदिन साधारण सभामा अनिवार्य रूपमा सहभागी हुनु जरुरी रहेको जोड दिए।

प्रमुख अतिथि वडा अध्यक्ष बलायरले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय सरकार निरन्तर साथमा रहने प्रतिबद्धता जनाए। उनले वन संरक्षण र व्यवस्थापनमा समुदायको सहभागिता महत्त्वपूर्ण रहेको भन्दै स्थानीय स्तरमा सहकार्य बढाउन आग्रह गरे।

त्यसैगरी सह–वन अधिकृत मनिदत्त भट्टले समूहले विधान, कार्यविधि र नियमावलीअनुसार पारदर्शिता कायम राख्दै योजना कार्यान्वयन गर्नुपर्ने सुझाव दिए। सामुदायिक वन सफल हुन उपभोक्ताको सक्रियता र जिम्मेवारीबोध मुख्य आधार हुने बताए।

महाकाली सामुदायिक वनका अध्यक्ष तथा समन्वय समितिका सचिव वीरबहादुर राजवंशीले साधारण सभामा उपस्थिति अनिवार्य गर्दै सामूहिक निर्णय प्रक्रियाको महत्वबारे उपभोक्तालाई अवगत गराए। उनले निर्णय प्रक्रियामा सबै उपभोक्ताको सहभागिता नै समूहको दीगो विकासको आधार हुने बताए।

कार्यक्रममा गौरादेवी सामुदायिक वनका अध्यक्ष सुरेश बलायर, विरेन्द्र सामुदायिक वनकी अध्यक्ष धर्मा भाट, एकता सामुदायिक वनका सचिव कालीराम चौधरी, उग्रतारा सामुदायिक वनका सचिव नरेन्द्र खड्का, विद्यालय व्यवस्थापन समिति, कृषिसमूह तथा विभिन्न उपभोक्ता समूहका प्रतिनिधिहरूले वन संरक्षण, तालिम कार्यक्रम, बजेट व्यवस्थापन तथा भावी योजनाबारे सुझाव र धारणा राखेका थिए।

सभामा अध्यक्ष भण्डारीले गत वर्षको आय–व्यय रु. २३,७६,८६७ र आगामी वर्षको अनुमानित बजेट रु. ५८,४४,५०० को विवरण प्रस्तुत गर्दै आन्तरिक आय वृद्धि, तालिम विस्तार, ताल संरक्षण तथा सामुदायिक विकास कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका थिए।

कार्यक्रम नवज्योति आधारभूत विद्यालयकी शिक्षिका सम्झना साउदको सञ्चालनमा भएको थियो। सभामा ज्येष्ठ नागरिक सम्मान, पूर्व अध्यक्ष सम्मान, पाहुनालाई मायाको चिनो वितरण, कम्प्युटर तालिम तथा विद्यार्थीलाई प्रमाणपत्र वितरण, साथै सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो।

उपाध्यक्ष अर्जुन केसीले शुभकामना तथा स्वागत मन्तव्य दिए भने अध्यक्ष भण्डारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको जानकारी दिए। आयोजकका अनुसार साधारण सभाले आगामी वर्षका कार्यक्रम, नीतिगत निर्णय तथा सामुदायिक वन व्यवस्थापन सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply