जनउत्थान सामुदायिक लघुवित्तद्वारा ३ दिने ढकिया निर्माण तालिम सम्पन्न

मंसिर २१
कञ्चनपुर — “रैथानेमा गर्व गरौँ, स्थानीय उत्पादन र उपभोगमा जोड दिऔँ” भन्ने मूल नारासहित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा रैकवारबिचवाले आफ्ना समूह सदस्यलाई लक्षित गरी तीनदिने ढकिया बनाउने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

परम्परागत स्थानीय सिप–कलाको संरक्षण र विकास गर्ने, नयाँ पुस्तामा हस्तान्तरण गर्ने तथा त्यसैका माध्यमबाट स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाले जानकारी दिएको छ। बजारमा आयातित सामग्रीको प्रयोग बढ्दै गएको, पुराना रैथाने सिप हराउँदै गएको वर्तमान अवस्थामा बाबियाबाट तयार गरिने ढकियाले बाहिरबाट ल्याइने वस्तुलाई प्रतिस्थापन गर्न मद्दत गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

मंसिर १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको तालिमको समापन कार्यक्रम सस्थाका इलाका सञ्चालन अधिकृत मदन कुँवर तथा स्थानीय सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको थियो।

समापन कार्यक्रममा बोल्दै अधिकृत कुँवरले नयाँ पुस्ता शिक्षातर्फ मात्र आकर्षित भइरहेको तर आफ्नै पहिचान जोगाउने र परम्परागत सिपलाई निरन्तरता दिने संस्कार कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले ढकिया निर्माणजस्तो मौलिक सिप नोक्सान हुँदै जान लागेको अवस्थामा युवा पुस्तालाई यसको महत्व बुझाई सिप हस्तान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो।

“ढकिया विगतमा थारु समुदायसँग विशेष पहिचान जोडिएको सिप हो, तर अहिले सबै समुदायले यसको प्रयोग गर्छन्। स्थानीय स्रोतबाट उत्पादन गर्न सकिने भएकाले यसले घरागृहमा आवश्यकतामात्र पूरा गर्दैन, मनग्य आम्दानीको स्रोत बन्न पनि सक्छ,” — अधिकृत कुँवरले थप्नुभयो।

जनउत्थान सामुदायिक लघुवित्तले वित्तीय सेवासहित सदस्यहरूको आय–आर्जन तथा सिप विकासमा केन्द्रित विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। बुटवलमा केन्द्रीय कार्यालय रहेको संस्थाले हाल १९ जिल्लामा ३९ शाखा मार्फत वित्तीय सेवा विस्तार गरिरहेको छ।

स्थानीय सिपमै आधारित उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित यस तालिमले सहभागीहरूलाई आत्मनिर्भरता र व्यावसायिकता तर्फ उन्मुख बनाउने अपेक्षा संस्थाले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply