मंसिर २१
धनगढी — सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग–व्यापार, संस्कृति तथा कलाको प्रवर्द्धन गर्ने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सव २०८२ आगामी मंसिर २२ गतेदेखि सुरु हुने भएको छ। २०६३ सालदेखि निरन्तर धनगढीमा आयोजना हुँदै आएको महोत्सव यस वर्ष १९ औँ संस्करणमा प्रवेश गर्दैछ।
धनगढी–१ स्थित पशुपति टोलमा मंसिर २२ देखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवबारे संघले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार महोत्सवले सुदूरपश्चिमको कृषि, पर्यटन, उद्योग व्यवसाय तथा कला–संस्कृतिमा रहेको सम्भावनालाई उजागर गर्दै आर्थिक–सामाजिक पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यस वर्ष बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा कृषिमा भित्रिएका नयाँ प्रविधिको प्रदर्शनलाई विशेष प्राथमिकता दिइनेछ।
महोत्सवमा कृषि तथा जडीबुटीजन्य उत्पादन, हस्तकला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलेक्ट्रोनिक्स, होटल तथा सूचना–प्रविधि गरी ५०० भन्दा बढी स्टल रहनेछन्। सबै स्टल बुक भइसकेको आयोजकले जनाएको छ। करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालन हुने महोत्सवबाट १५ करोड रुपैयाँबराबरको कारोबार हुने अनुमान गरिएको छ।
स्थानीय उत्पादन, महिला उद्यमी तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने महोत्सवमा करिब ७ लाख दर्शक आउने अपेक्षा गरिएको छ। सुदूरपश्चिमेली संस्कृति, नृत्य, गीत तथा परिकारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय कलाकार र सांस्कृतिक समूहलाई विशेष स्थान दिइने संघले बताएको छ।
सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राख्दै महोत्सव स्थलमा अत्याधुनिक सीसी क्यामेरा निगरानी, निजी तथा सरकारी सुरक्षाकर्मी, दमकल तथा प्राथमिक उपचार टोली तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ। सहभागी व्यवसायी तथा दर्शकका लागि बीमा सुविधा समेत उपलब्ध गराइनेछ।
डिजिटल भुक्तानी प्रवर्द्धन गर्न महोत्सवको टिकट इसेवा मार्फत अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ। टिकट दर विद्यार्थीका लागि ५० रुपैयाँ, सर्वसाधारणका लागि १०० रुपैयाँ तोकिएको छ भने जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेश रहनेछ।
यस वर्षको महोत्सवका मुख्य प्रायोजक निशर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ तथा महासंघ सुदूरपश्चिम प्रदेश संरक्षकका रूपमा रहनेछन्।
अध्यक्ष ओझाले सबै राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, पत्रकार, विद्यार्थी, उद्यमी र सर्वसाधारणलाई सक्रिय सहभागिता जनाइ सुदूरपश्चिम महोत्सव २०८२ लाई भव्य र सफल बनाउन आग्रह गरेका छन्।

