हेमा भट्ट, २३ मंसिर
धनगढी- सुदूरपश्चिम महोत्सव–२०८२ मा सहभागी सर्वसाधारणलाई स्वच्छ र सुरक्षित खानापान उपलब्ध गराउन खाद्य गुण नियन्त्रण कार्यालय धनगढी–कैलालीले महोत्सवस्थलमा कडा अनुगमन थालेको छ। महोत्सवमा भीड बढेसँगै अस्वास्थ्यकर, मिसावटयुक्त तथा म्याद गुज्रिएका सामग्री बेचबिखन हुने सम्भावनालाई ध्यानमा राख्दै कार्यालयले दैनिक रूपमा स्टल–स्टलमा पुगेर निरीक्षण गरिरहेको हो।


वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नरेन्द्र सिंह थलार,आरती भट्ट, हरेराम प्रधानको समन्वयमा प्राविधिक सहायक सृजना चौधरीलगायतको टोलीले महोत्सव क्षेत्रका सबै खानापान स्टलमा सरसफाइ, सामग्रीको अवस्था, तेलको प्रयोग, खाद्य रंग तथा मिसावटको अवस्था अनुगमन गर्दै आएको छ।
रंग मिसावट भेटिएका पकौडा नष्ट- अनुगमनका क्रममा केही स्टलमा कृत्रिम रंग अत्यधिक प्रयोग गरी तयार गरिएका पकौडा तथा परिकार भेटिएको खाद्य अनुसन्धान अधिकृत भट्टले बताइन्। उनका अनुसार, “स्वास्थ्यमा हानि पुर्याउन सक्ने सामग्री भेटिएपछि तिनलाई तत्कालै नष्ट गर्ने कार्य गरिएको छ। सुरक्षित खाना उपलब्ध गराउनु नै हाम्रो पहिलो दायित्व हो,” भट्टले भनिन्।


नष्ट गरिएका सामग्रीलाई बालुवा छर्केर नष्ट गर्ने तथा डस्टबिनमार्फत उचित व्यवस्थापन गर्ने प्रक्रिया अपनाइएको थियो। अनुगमन टोलीले सबै स्टल सञ्चालकलाई—म्याद गुज्रिएका सामग्री नबेच्ने,खुला रूपमा राखिने खाद्य पदार्थ अनिवार्य रूपमा ढाकेर राख्ने एकै तेल पटक–पटक प्रयोग नगर्ने, धुलो– धुवाबाट बचाउन सुरक्षात्मक आवरण प्रयोग गर्ने लगायतका निर्देशन दिएको छ। स्टल सञ्चालकहरूले निरीक्षणलाई सकारात्मक रूपमा लिँदै सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
महोत्सवमा यस वर्ष थारु समुदायका मौलिक परिकार, स्थानीय अर्गानिक उत्पादन, घरेलु मसला, दाल–चामल, फास्टफुड, विविध परिकार तथा कृषिउद्योगसम्बन्धी सामग्रीका स्टलले आकर्षण पाएका छन्। साथै कलाकारहरूको सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शन तथा मनोरञ्जनका गतिविधिले महोत्सवमा थप रौनक भरेको छ।


अनुगमनपछि धेरै स्टलले खाना तयार गर्ने तरिका र सामग्री व्यवस्थापनमा सुधार गरेको टोलीले जनाएको छ। अनुसन्धान अधिकृत नरेन्द्र सिंह थलालका अनुसार, “गुणस्तरीय खाना उपलब्ध गराउनु स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय हो। महोत्सव अवधिभर नियमित अनुगमन जारी रहनेछ,” उनले भने।
दैनिक हजारौँको भीड लाग्ने सुदूरपश्चिम महोत्सव–२०८२ स्वच्छता, स्वाद र सुरक्षाका कारण सर्वसाधारणको रोजाइ बन्दै गएको छ।
