कैलाली–कञ्चनपुरमा सरकारी धान खरिद लक्ष्यभन्दा बढी

मंसिर २३,
कैलाली —किसानले समर्थन मूल्य नपाएको गुनासो बढेपछि सुरु भएको सरकारी धान खरिद अभियान यस वर्ष तीन सातामै कोटा नाघेर सम्पन्न भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका अनुसार कैलाली–कञ्चनपुरमा पहिलो चरणको धान खरिद लक्ष्यभन्दा धेरै भएको छ।

कार्तिक ४ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानहरूबाट धानको समर्थन मूल्य नपाएको विषयमा आएको गुनासोप्रति गम्भीर हुँदै कैलालीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई अनुगमन र खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। सोही निर्देशनपछि सुरु गरिएको खरिद अभियान द्रुत गतिमा अघि बढेको कार्यालयले जनाएको छ।

गत वर्ष ५५ हजार क्विन्टल कोटा पाएको प्रादेशिक कार्यालयले चार महिनामा मात्र ३४ हजार ५०१ क्विन्टल धान खरिद गरेको थियो। यस वर्ष भने ३५ हजार क्विन्टल कोटा रहेकामा कैलालीमा ३८ हजार ९४८ क्विन्टल र कञ्चनपुरमा ५ हजार कोटाबाट ७ हजार ६ क्विन्टल धान खरिद गरिएको प्रादेशिक कार्यालय प्रमुख दीपक थापाले बताए।

कार्यालयका अनुसार कैलालीमा मोहनापुर, टीकापुर, सति, भजनी, जोशीपुर र गौरीगंगा केन्द्रमार्फत धान खरिद गरिएको थियो। कञ्चनपुरमा भने महेन्द्रनगर र पुनर्वास खरिद केन्द्रबाट लक्ष्यभन्दा बढी धान संकलन भएको छ।

किसानको भीड बढ्दै गएपछि मुख्यमन्त्री शाहले सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई अतिरिक्त ५० हजार क्विन्टल धान खरिद कोटा उपलब्ध गराउन औपचारिक अनुरोध गरेका छन्। साथै खेतीको समयमा मलखाद अभाव नहोस् भनी आवश्यक परिमाण समयमै पठाइदिन समेत आग्रह गरिएको छ।

कैलाली–कञ्चनपुरमा वार्षिक करिब १० लाख क्विन्टल धान उत्पादन हुने गर्छ। त्यसमध्ये करिब ३ लाख क्विन्टल स्थानीय उपभोगमा जाने र बाँकी धान खाद्य कम्पनी, स्थानीय व्यापारी तथा मिलहरूमार्फत बिक्री हुने गरेको कार्यालयले जनाएको छ।

यस वर्ष सरकारी सक्रियता र छिटो प्रक्रियाले किसानलाई समर्थन मूल्यमा धान बेच्न सहज वातावरण बनेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply