धनबहादुर बिक
पुनर्वास, २९ मंसिर
कञ्चनपुरको पुनर्वासमा रहेको भागेश्वर सुगर एण्ड केमिकल इन्डस्ट्रिजले यस वर्षको उखु क्रसिङ प्रक्रिया सुरु गरेको छ। मंसिर १८ गते पुनर्वास क्षेत्रका सयौं उखु किसानहरूको उपस्थितिमा डोंगा पूजा गरी औपचारिक रूपमा क्रसिङको शुभारम्भ गरिएको हो।
मिलका प्रबन्धक डम्बरबहादुर खड्काका अनुसार चालु सिजनमा करिब २५ लाख कुण्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको छ। पूजा पश्चात उपस्थित किसानहरूलाई सचेत गराउँदै मिलका जिएम राजेश्वर शाहले गैरकिसानलाई पर्ची उपलब्ध नगराइने स्पष्ट पारे।

यसैबीच मिल प्रशासनले किसानहरूलाई मिलको समन्वयबिना तथा समय अगावै उखु कटान नगर्न अपिल गरेको छ। बिना जानकारी उखु कटान गर्दा सडकमा लामो समयसम्म लाइन लाग्ने, अव्यवस्था सिर्जना हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले मिलको मागअनुसार तथा आ–आफ्ना फिल्ड स्टाफ र ढुवानी साधनवालासँग समन्वय गरी उखु कटान गर्न आग्रह गरिएको छ।
कार्यक्रममा किसान हक–हितका विषयमा धारणा राख्दै पुनर्वास नगरपालिका–८ का कृषक तथा समाजसेवी भरतबहादुर बिष्टले किसानले उत्पादन गरेको उखु सम्बन्धित किसानले नै मिलमा बिक्री गर्न पाउनुपर्ने र बिचौलियालाई दलाली गर्ने अवसर नदिनुपर्नेमा जोड दिए।

त्यसैगरी पुनर्वास नगरपालिका–१ का वडा अध्यक्ष मोहनलाल रानाले बिक्री गरिएको उखुको भुक्तानी किसानले समयमै पाउने व्यवस्था मिलाउन मिल प्रशासनले सहज वातावरण बनाउनुपर्ने बताए।
२५ लाख कुण्टल क्रसिङ क्षमता रहेको भागेश्वर सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा दक्षिणी क्षेत्रका साविक ७ वटा गाविस उखु पकेट क्षेत्र रहेको मिल सञ्चालकले जानकारी दिएका छन्।
आफ्नै घरआँगन नजिक सञ्चालनमा रहेको भागेश्वर सुगर मिलबाट प्राप्त सेवाप्रति यस क्षेत्रका किसानहरू सन्तुष्ट रहेको बताएका छन्।
