लागू औषध न्यूनीकरणमा परिवारदेखि समाजसम्मको साझा जिम्मेवारी आवश्यक

पुस १ धनगढी — बढ्दो लागू औषध दुव्र्यसन नियन्त्रणका लागि कानुनी कारबाहीभन्दा पनि सामूहिक चेतना, उपचार र सामाजिक उत्तरदायित्व आवश्यक रहेको सरोकारवालाले बताएका छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सवअन्तर्गत आयोजित भिजन सुदूरपश्चिम कार्यक्रमको बहसमा वक्ताहरूले लागू औषध न्यूनीकरणमा घरपरिवार, विद्यालय, समाज र राज्य सबैको साझा भूमिका अपरिहार्य रहेकोमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार लागू औषध प्रयोगकर्ताको दृष्टिले कैलाली देशका उच्च जोखिमयुक्त १० जिल्लामध्ये एक हो । खुला सीमा नाकाका कारण भारतीय बजारबाट सजिलै लागू औषध भित्रिने हुँदा यसको प्रत्यक्ष असर सीमावर्ती क्षेत्रका युवामा देखिएको उनले बताए । १८ देखि ४० वर्ष उमेर समूहका युवा–युवती दुव्र्यसनमा बढी फसिरहेका छन् ।

उनले लागू औषध नियन्त्रणमा सबै पक्ष जिम्मेवार रहेको उल्लेख गर्दै भने, “कानुन कार्यान्वयन मात्र पर्याप्त हुँदैन, जनचेतना र सामाजिक सहभागिताविना समस्या समाधान हुँदैन ।”

चार वर्षको तथ्याङ्कले कैलालीमा लागू औषधसम्बन्धी मुद्दा निरन्तर बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा ३४७ मुद्दा दर्ता हुँदा ५२२ जनामाथि कारबाही भएको थियो भने २०८१/८२ मा यो संख्या बढेर ४६६ मुद्दा पुगेको छ । चालू आर्थिक वर्षमै १२२ मुद्दा दर्ता भइसकेका छन् ।

सुदूरपश्चिम पुनस्र्थापना फाउन्डेसनका सञ्चालक समीर मल्लले कैलालीमा लागू औषध दुव्र्यसनको अवस्था गम्भीर बन्दै गएको बताए । साथी संगत, दबाब, उत्सुकता र हिरोगिरीका कारण युवाहरू दुव्र्यसनमा फसिरहेको उनको भनाइ छ । “यसमा अभिभावक, शिक्षक र समाज सबैको कमजोरी छ,” उनले भने । दुव्र्यसनीलाई मुद्दा चलाएर मात्र समाधान नहुने भन्दै उपचार र मनोपरामर्श अनिवार्य रहेको उनले जोड दिए ।

निसर्ग अस्पतालका मनोचिकित्सक डा. प्रभात सापकोटाले लागू औषध दुव्र्यसनलाई मानसिक रोगको रूपमा बुझ्नुपर्ने बताए । “डिप्रेसन र एन्जायटी जस्तै लागू औषध दुव्र्यसन पनि मनोरोग हो, जसको उपचार आवश्यक हुन्छ,” उनले भने । कारागारमा राखेर होइन, औषधि र परामर्शमार्फत उपचार गर्न सके मात्र दिगो समाधान सम्भव हुने उनको धारणा छ ।

विद्यालय तहदेखि नै मानसिक स्वास्थ्य शिक्षा र लागू औषधसम्बन्धी पाठ्यक्रम लागू गर्नुपर्ने सुझाव दिँदै उनले समाजले दुव्र्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेर्नुपर्ने बताए ।

कैलाली उद्योग वाणिज्य संघले यस वर्षदेखि सुदूरपश्चिम महोत्सवमा मनोरञ्जनसँगै सामाजिक सरोकारका विषयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरु गरेको हो । सातौं श्रृङ्खलामा ‘बढ्दो लागू औषधः न्यूनीकरणका लागि साझा प्रयास’ विषयमा सरोकारवाला निकायबीच गहन छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply