नवज्योति आधारभूत विद्यालयको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

हेमा भट्ट,पुस २
कञ्चनपुर- कृष्णपुर नगरपालिका वडा नम्बर ८ राजघाटस्थित श्री नवज्योति आधारभूत विद्यालयको ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार भव्य रूपमा सम्पन्न भएको छ । विद्यालयको शैक्षिक प्रगति, उपलब्धि तथा भावी योजनामाथि केन्द्रित कार्यक्रममा शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय जनप्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभाअध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिभान विक रहनु भएको थियो भने प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश खड्का रहनु भएको थियो । विशिष्ट अतिथिका रूपमा पूर्व प्रधानाध्यापक वासुदेव जोशी, दिपेन्द्र कुमार खड्का तथा टेकबहादुर साउद सहभागी हुनु भएको थियो । कार्यक्रममा विणा माध्यमिक विद्यालयका शिक्षक चन्द्रबहादुर महरा समाजसेवी लोकराज ओझा लगायत समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर तथा ब्यानर वाचन गर्दै गरिएको थियो । स्वागत मन्तव्य विद्यालयकी शिक्षिका सम्झना बस्नेतले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षिका पार्वती खड्काले गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर साउदले विद्यालयको आय–व्यय विवरण तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सीमित स्रोतसाधनका बीच पनि गुणस्तरीय शिक्षाका लागि निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो । शिक्षकको प्रतिबद्धता, अभिभावकको सहयोग र समुदायको सहकार्य विद्यालय विकासको मुख्य आधार भएको उहाँको भनाइ थियो ।

प्रमुख अतिथि वडा अध्यक्ष दिनेश खड्काले शिक्षा नै समाज परिवर्तनको मूल आधार भएको उल्लेख गर्दै विद्यालयलाई केवल पढाइको केन्द्र मात्र नभई अनुशासन, नैतिकता र जीवनोपयोगी सीप विकास गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिका तथा वडा कार्यालय विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर अभिवृद्धिमा आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अभिभावकहरूलाई विद्यालयसँग निरन्तर समन्वय गर्दै बालबालिकाको पढाइप्रति जिम्मेवार बन्न आग्रह गर्दै शिक्षा विद्यालय मात्र नभई अभिभावक, शिक्षक र समुदायको साझा दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि तथा अन्य वक्ताहरूले नवज्योति आधारभूत विद्यालयले स्थानीय तहमा पुर्‍याएको शैक्षिक योगदानको प्रशंसा गर्दै शैक्षिक सुधार, अनुशासन र अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले नृत्य, गीत तथा विविध सांस्कृतिक र शैक्षिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । यसले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप मजबुत बनेको सहभागीहरूले बताएका छन् ।

कार्यक्रमको अन्त्यमा सभाअध्यक्ष शालिभान विकले उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, अभिभावक तथा सहयोगी निकायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक उन्नयनका लागि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply