रिलिशा राजवंशी, २ पुस,
बाँके- नेपालगन्ज उपमहानगरपालिका–स्थित भृकुटी नगरमा रहेको प्रभात मेमोरियल हाई स्कुलले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम, नेपालगन्जमा सामाजिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा आयोजित उक्त भ्रमणका क्रममा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाजा–नास्ताको व्यवस्था गर्नुका साथै आत्मीय भेटघाट गरिएको थियो। सामाजिक सेवामार्फत विद्यार्थीहरूमा मानवीय भावना, सहयोग, सहानुभूति र सामाजिक चेतनाको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा सोही विद्यालयमा अध्ययनरत ६ वर्षीय विद्यार्थी अभिनव चौधरीले आफूले तयार पारेको “ग्रीन इन्भाइरमेन्ट, बेटर लाइफ” शीर्षकको वातावरणीय प्रोजेक्ट प्रस्तुत गरेका थिए। उनले वातावरण संरक्षणको सन्देशसहित मानव सेवा आश्रममा आश्रित सबैलाई आफ्नै तर्फबाट बिरुवा वितरण गरेका थिए।
सानो उमेरमै सामाजिक सेवा र वातावरण संरक्षणप्रति देखाएको सक्रियता र चेतनाले कार्यक्रममा सहभागी सबैलाई प्रेरित गरेको विद्यालयले जनाएको छ। विद्यालयले यस्ता सामाजिक गतिविधिहरू आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



