कैलालीमा साढे तीन महिनामै ५४२ मुद्दा दर्ता

पुस ३
कैलालीमा पछिल्लो साढे तीन महिनामा ५४२ मुद्दा दर्ता भएका छन् । जिल्लामा असोज १५ देखि मंसिर मसान्त सम्ममा उक्त मुद्दा दर्ता भएका हुन । बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै दर्ता भएका मुद्दामा सबैभन्दा बढी सङ्गठित अपराधका मुद्दा रहेको जनाएको छ । सङ्गठित अपराध सम्बन्धी ९८ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा संलग्न १ सय ८९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पछिल्लो साढे तीन महिनामा कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका ७६ वटा मुद्दा दर्ता भएका छन्, जसमा ५३ जना पक्राउ परेका छन् । आत्महत्याका घटनासमेत उच्च देखिएको छ । सो अवधिमा आत्महत्या सम्बन्धी ९६ वटा मुद्दा दर्ता भएका छन् । सामाजिक अपराधतर्फ हेर्दा ५० वटा मुद्दा दर्ता भई ९२ जना पक्राउ परेका छन् । जबरजस्ती करणी, बालविवाह, बोक्सी आरोप लगायत महिला सम्बन्धी अपराधका २७ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३४ जना पक्राउ परेका छन् ।

जिल्लामा बैङ्किङ कसुरसम्बन्धी अपराध पनि बढ्दो क्रममा देखिएको छ । प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा बैङ्किङ कसुरका १ सय ५३ वटा मुद्दा दर्ता भएका छन् भने २४ जनालाई पक्राउ गरिएको छ । यसले आर्थिक अपराध कैलालीका लागि चुनौती बन्दै गएको देखाएको छ ।

प्रहरीले पछिल्लो साढे तीन महिनामा ३ सय ७२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले २० वर्षपछि पक्राउ परेका ३ जना, १५ वर्षपछि पक्राउ परेका १६ जना, १० वर्षपछि पक्राउ परेका ७३ जना तथा ५ वर्षपछि पक्राउ परेका १२५ जना अभियुक्त रहेका छन् । यस्तै, अदालतबाट फैसला भई फरार रहेका पाँच वर्षभन्दा कम अवधिका १ सय ५५ जनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस अवधिमा लागु औषध सम्बन्धी ८४ वटा मुद्दा दर्ता भई १ सय २६ जना पक्राउ परेका छन् । प्रहरी प्रमुख चन्दले हत्या, हिंसा, जबरजस्ती करणी, चोरी, तस्करीलगायत सामाजिक अपराधका घटनामा उल्लेखनीय कमी आउन नसकेको बताउँदै अपराध नियन्त्रणका लागि प्रहरीले विशेष रणनीति बनाएर काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply