पुस ४
धनगढी —पर्यटन र पर्यापर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त सुदूरपश्चिम प्रदेशमा सरकारी नीतिगत अस्पष्टताले पर्यटन व्यवसाय अघि बढ्न नसकेको सरोकारवालाहरूले बताएका छन् । प्रदेश सरकारले समयअनुकूल स्पष्ट नीति तथा ऐन नल्याउँदा निजी क्षेत्र र युवाहरू पर्यटन उद्यममा प्रवेश गर्न हतोत्साहित भइरहेको उनीहरूको भनाइ छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम महोत्सव अन्तर्गत सञ्चालन भइरहेको भिजन सुदूरपश्चिम बहस कार्यक्रममा ‘सुदूरपश्चिमका पर्यटकीय सम्भावना र युवा उद्यमशीलता’ विषयमा बोल्ने वक्ताहरूले प्रदेश सरकार स्वयं पर्यटन व्यवसायीका लागि अवरोध बनेको आरोप लगाए ।
कार्यक्रममा युवा पर्यटन व्यवसायी दिनेशराज भण्डारीले पर्यटन क्षेत्रमा लगानी गर्ने वातावरण नहुँदा युवाहरू स्वदेशमै उद्यम गर्न नसकेको बताए । सरकार एकातिर युवालाई स्वरोजगार बन्न आग्रह गर्ने तर अर्कोतर्फ झन्झटिला ऐन–कानुनमार्फत उनीहरूलाई निरुत्साहित गरिरहेको उनको गुनासो थियो । व्यवसाय दर्ताका लागि संघ, प्रदेश, स्थानीय तहदेखि वडा कार्यालयसम्म धाउनुपर्ने अवस्थाले युवा व्यवसायी थाकेर विदेश पलायन हुन बाध्य भएको उनले बताए ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) सुदूरपश्चिम प्रदेश अध्यक्ष पदमविक्रम सिंहले पनि प्रदेशमा पर्यटन क्षेत्र अवसरभन्दा चुनौतीको घेरामा परेको उल्लेख गरे । उनले हाल लागू प्रदेश पर्यटन ऐनकै कारण पर्यटन व्यवसाय सञ्चालन तथा नवीकरण गर्न कठिनाइ भइरहेको बताए । प्रदेश पर्यटन ऐन २०७७ शीघ्र संशोधन नगरेसम्म पर्यटन क्षेत्रले गति लिन नसक्ने उनको दाबी छ ।
सिंहले निजी क्षेत्रले सीमित स्रोतका बीच पनि पर्यापर्यटन प्रवर्द्धनमा योगदान दिइरहे पनि सरकारले भने पर्यटकीय क्षेत्रमा आवश्यक आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन नसकेको बताए । सडक, पदमार्ग, खानेपानी, विद्युत, सञ्चार सेवा र शौचालयजस्ता आधारभूत संरचनाको अभावले एकपटक आएका पर्यटक पुनः नआउने अवस्था सिर्जना भएको उनले बताए ।

यता, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशका अधिकृत दानबहादुर थापाले प्रदेश पर्यटन ऐन संशोधनमा ढिलाइ भएको स्वीकार गरे । उनका अनुसार ऐन संशोधनका लागि मस्यौदा तयार भए पनि सरोकारवालासँग छलफल र संसदबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउने भएकाले केही समय लाग्नेछ ।

थापाले राजनीतिक प्राथमिकताका कारण पर्यटन क्षेत्रको पूर्वाधार विकास अपेक्षित रूपमा हुन नसकेको पनि स्वीकारे । उनका अनुसार अघिल्ला वर्षहरूमा पर्यटन बजेट धेरैजसो मठ–मन्दिर निर्माणमा खर्च हुँदा वास्तविक पर्यटकीय गन्तव्यहरू ओझेलमा परेका छन् ।
सुदूरपश्चिम महोत्सव अन्तर्गत यस वर्षदेखि सुरु गरिएको भिजन सुदूरपश्चिम बहस कार्यक्रममा शुक्रबार दशौँ श्रृङ्खलाका रूपमा पर्यटन र युवा उद्यमशीलतासम्बन्धी छलफल गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
