१६औँ राष्ट्रपति रनिङसिल्डका लागि जानकी सामुदायिक वनद्वारा बिणा माविका विद्यार्थीलाई जर्सी हस्तान्तरण

हेमा भट्ट, पुस ४
कञ्चनपुर- कृष्णपुर नगरपालिका अन्तर्गत भोलिबाट सुरु हुने १६औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितालाई लक्षित गर्दै जानकी सामुदायिक वन उपभोक्ता समूहले बिणा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूलाई जर्सी हस्तान्तरण तथा वितरण गरेको छ । खेलकुदको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने उद्देश्यले सामुदायिक वनले यस प्रकारको सहयोग गरेको हो ।

कार्यक्रमका अवसरमा बोल्दै स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवालाहरूले जानकी सामुदायिक वनले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा निरन्तर योगदान दिँदै आएको भन्दै प्रशंसा व्यक्त गरेका छन् । वन उपभोक्ता समूहले केवल वन संरक्षणमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यालय, विद्यार्थी र समुदायका लागि उल्लेखनीय काम गर्दै आएको उनीहरूको भनाइ छ ।

जानकी सामुदायिक वन उपभोक्ता समूहले यसअघि पनि विद्यालय सुधार, विद्यार्थी खेलकुद सामग्री सहयोग, स्वास्थ्य उपचार खर्च, विपन्न तथा पीडित परिवारलाई राहत सहयोगजस्ता कार्यहरू गर्दै आएको छ । यसले समुदायमा सामुदायिक वनप्रति विश्वास र अपनत्व अझ बलियो बनाएको स्थानीयको अनुभव छ ।

सामुदायिक वनका अध्यक्ष तथा समाजसेवी युवा चन्द्र प्रकाश भट्ट पछिल्लो समय समुदायमा लोकप्रिय बन्दै जानुभएको छ । युवा नेतृत्वका रूपमा उहाँले वन उपभोक्ताहरूको हित, सामाजिक सेवामा सक्रियता र पारदर्शी कार्यशैलीमार्फत सबैको मन जित्न सफल हुनुभएको छ । अध्यक्ष भट्टले वनको आम्दानीलाई सामाजिक विकासमा केन्द्रित गर्दै शिक्षा, खेलकुद, स्वास्थ्य र विपन्न वर्गको सहयोगलाई प्राथमिकतामा राख्दै आउनुभएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले विद्यार्थीहरू देशको भविष्य भएकाले उनीहरूको क्षमता विकासमा लगानी गर्नु नै दीर्घकालीन सामाजिक विकासको आधार भएको उल्लेख गर्नुभयो । “खेलकुदले अनुशासन, आत्मविश्वास र स्वास्थ्य सुदृढ बनाउँछ । राष्ट्रपति रनिङसिल्डजस्तो प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो ।

जर्सी प्राप्त गरेका विद्यार्थी खेलाडीहरूले सामुदायिक वनप्रति आभार व्यक्त गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन् । शिक्षकहरूले पनि यस प्रकारको सहयोगले विद्यार्थीको मनोबल उच्च बनाउने र खेलकुदप्रतिको आकर्षण बढ्ने बताएका छन् ।

जानकी सामुदायिक वन उपभोक्ता समूह आजको दिनमा केवल वन व्यवस्थापन गर्ने संस्था मात्र नभई उपचार खर्चदेखि दुखी–पीडितको सहारा बन्ने, विद्यालय र विद्यार्थीको भरोसायोग्य साझेदार बन्ने सामुदायिक संस्थाका रूपमा परिचित हुँदै गएको छ । यस्ता सकारात्मक कार्यले सामुदायिक वनको भूमिकालाई अझ प्रभावकारी र उदाहरणीय बनाएको स्थानीयहरूको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply