कैलाली — भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उदेश्यले शनिबार सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बल (एपीएफ) नेपालबीच संयुक्त गस्ती तथा समन्वय बैठक सम्पन्न भएको छ। ३९औँ वाहिनी एसएसबीका कमाण्डेन्ट रवीन्द्र कुमार राजेश्वरीको निर्देशनमा बनकटीस्थित ‘सी’ कम्पनी र एपीएफको जुगेडा बीओपीबीच यो अभ्यास गरिएको हो।
बैठकको मुख्य उद्देश्य सीमा सुरक्षा सुदृढ गर्नु र सीमापार अपराध, अवैध गतिविधि तथा तस्करी रोकथामका लागि आपसी तालमेल बलियो बनाउनु रहेको थियो। दुवै पक्षले सूचना आदान–प्रदान गर्दै सुरक्षा रणनीति र भविष्यमा आउन सक्ने चुनौतीहरूको सामना गर्ने विषयमा गहन छलफल गरेका छन्।
नेपालको तर्फबाट एपीएफका इन्स्पेक्टर बिशेष सिंह कार्कीको नेतृत्वमा हेड कन्स्टेबल खुम सुहार, रेशिम खत्री, शान्ते रामसहितका जवान सहभागी थिए भने भारतको तर्फबाट एसएसबीका इन्स्पेक्टर विनोद खोजा, उप-निरीक्षक कुलदीप, सहायक उप-निरीक्षक प्रेम कुमार र आरक्षी शिवा उपस्थित थिए।
कार्यक्रमको अन्त्यमा नयाँ अंग्रेजी वर्ष २०२६ को अवसरमा दुवै पक्षबीच मिठाई साटासाट गर्दै हार्दिक शुभकामना व्यक्त गरिएको थियो। यस अवसरले नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता पुन: पुष्टि गरेको आयोजकहरूले जनाए।

