पुष ११, कैलाली — सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको आर्थिक अवस्था अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। आर्थिक मामिला मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकले राजस्व संकलन र बजेट खर्च दुवै पक्ष कमजोर देखिएको संकेत गरेको छ।
मंसिरसम्म सवारी साधन करतर्फ २६ करोड ११ लाख ८९ हजार रुपैयाँ संकलन भएको छ। यो अघिल्लो वर्षको सोही अवधिभन्दा करिब १४ लाख ८० हजार रुपैयाँ बढी भए पनि समग्र राजस्वमा भने गिरावट देखिएको छ। गत आर्थिक वर्षको मंसिरमा ४८ करोड ७६ लाख २३ हजार रुपैयाँ राजस्व उठेकोमा यस वर्ष ४५ करोड २४ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ।
घरजग्गा रजिष्ट्रेशन दस्तुर सबैभन्दा बढी घटेको क्षेत्र बनेको छ। अघिल्लो वर्ष १५ करोड १७ लाख ७० हजार रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड २० लाख ७ हजार रुपैयाँ मात्र उठेको छ। मनोरञ्जन, विज्ञापन तथा प्राकृतिक स्रोतबाट प्राप्त आयमा उतार–चढाव देखिँदा अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने दोब्बरजस्तै वृद्धि भई ८ करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १ अर्ब ६५ करोड रुपैयाँ राजस्व लक्ष्य लिएको छ। तर मंसिरसम्म प्राप्ति प्रतिशत २७.४२ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ३०.३४ प्रतिशतभन्दा कम हो।
बजेट कार्यान्वयनको अवस्था पनि सुस्त छ। ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको कुल बजेटमध्ये हालसम्म ८.४४ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्च केही सक्रिय देखिए पनि पुँजीगत खर्च २.८९ प्रतिशतमै अड्किएको छ, जसले विकास निर्माण प्रभावित हुने संकेत गरेको छ।
मन्त्रालयगत खर्च हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च दर ४.१४ प्रतिशत मात्र छ। सामाजिक विकास मन्त्रालयले १३.०६ प्रतिशत खर्च गरेको छ भने कृषि तथा सहकारी मन्त्रालयको खर्च ६.७६ प्रतिशतमा सीमित छ। आर्थिक मामिला मन्त्रालयको खर्च दर तुलनात्मक रूपमा १८.९८ प्रतिशत रहे पनि आन्तरिक मामिला तथा कानून मन्त्रालयको खर्च ४.०४ प्रतिशत मात्र देखिएको छ।
यस्ता तथ्यांक सार्वजनिक भइरहँदा मुख्यमन्त्री कमल बहादुर शाहले कार्यसम्पादनप्रति कडा सन्देश दिनुभएको छ। समीक्षा बैठकमा उहाँले सबै मन्त्रालय र मातहतका निकायलाई १५ दिनभित्र नतिजामुखी, समयबद्ध र स्पष्ट कार्ययोजना पेश गर्न निर्देशन दिनुभयो। पुँजीगत खर्च बढाउन कमजोरी पहिचान गरी तत्काल सुधार नगरे जिम्मेवारी निर्धारण र जवाफदेहिता कडाइका साथ लागू गरिने चेतावनी पनि उहाँले दिनुभयो।
