धनबहादुर बिक
पुनर्वास, पुस १४
पुनर्वास नगरपालिकाभित्र रहेका दुई नमुना सामुदायिक विद्यालयले आफ्नो वार्षिकउत्सव तथा अभिभावक दिवस एकैदिन विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेका छन्।
जिल्लाकै अग्रणी विद्यालयका रूपमा परिचित पुनर्वास नगरपालिका–६ मा रहेको श्री पुनर्वास जनता माध्यमिक नमुना विद्यालयले ४९औँ वार्षिकउत्सव तथा अभिभावक दिवस मनाएको छ भने पुनर्वास नगरपालिका–२ मोतीबस्तीस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ४७औँ वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो।

सरस्वती माध्यमिक विद्यालयको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री वीरबहादुर थापाले सरस्वती माविलाई नमुना विद्यालयका रूपमा स्थापित गर्न आफू व्यक्तिगत तथा प्रदेश सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आफूले प्रारम्भिक तहको अध्ययन गरेको तथा केही समय शिक्षक र विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हालेको विद्यालय भएकाले सरस्वती माविको चौतर्फी विकासमा नैतिक दायित्व रहेको मन्त्री थापाले बताउनुभयो।
उहाँले विद्यालयमा परम्परागत शिक्षाभन्दा जीवनोपयोगी शिक्षा आवश्यक रहेको उल्लेख गर्दै ‘पढ्दै–कमाउँदै’ कार्यक्रम प्रभावकारी भएको बताउनुभयो। उदाहरणस्वरूप बेलौरी नगरपालिका–४ स्थित शान्ति माविले मौरी, कुखुरा र बंगुर पालनमार्फत वार्षिक १४ लाख रुपैयाँ आम्दानी गरेको तथा पुनर्वास नगरपालिका–५ स्थित गौरीशंकर माविका विद्यार्थीहरूले तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको उदाहरण प्रस्तुत गर्नुभयो।


यस्ता कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई प्रदेश सरकारले अनुदान र पुरस्कारसमेत उपलब्ध गराउने मन्त्री थापाले जानकारी दिनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को १ करोड ७७ लाख ३८ हजार ८८६ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभयो। प्रगति प्रतिवेदनअनुसार विद्यालयको नाममा ५ बिगाहा जग्गाको लालपुर्जा रहेको र थप ६ बिगाहा जग्गा फिल्डबुकमा कायम रहेको जनाइएको छ। साथै जिर्ण भवन मर्मत, पर्खाल निर्माण, बेन्च–डेस्क, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, मञ्च निर्माण तथा छुट्टै शौचालय आवश्यक रहेको उल्लेख गरिएको थियो।


७०४ विद्यार्थी अध्ययनरत सरस्वती माविमा शिक्षा प्रेमी समाजसेवीद्वारा स्थापना गरिएको १ लाख ६९ हजार १५१ रुपैयाँको अक्षयकोषको ब्याजबाट जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई नगद तथा स्टेसनरी प्रदान गरिएको थियो।
सो अवसरमा खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई मेडल र प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर बिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी, अभिभावक तथा विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन शिक्षक महावीर चन्दले गर्नुभएको थियो।


उता, पुनर्वास नगरपालिका–६ मा रहेको श्री पुनर्वास जनता माध्यमिक विद्यालयले पनि आफ्नो ४९औँ वार्षिकउत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर सायरको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष मित्रसिंह लामा प्रमुख अतिथि रहनुभएको थियो।
विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले आर्थिक वर्ष २०८२ साउन १ देखि पुस १४ गतेसम्मको १ करोड ८३ लाख ३७ हजार ८९५ रुपैयाँ आम्दानी र १ करोड ५८ लाख १३ हजार ७६८ रुपैयाँ खर्च विवरण प्रस्तुत गर्नुभयो।
अक्षयकोषको ब्याजबाट टुहुरा, जेहेन्दार, अनुशासित, कक्षागत तथा सरसफाइमा उत्कृष्ट २५ जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए।
कार्यक्रमको स्वागत वरिष्ठ शिक्षक नारायणसिंह ऐरीले गर्नुभएको थियो भने सञ्चालन सहायक प्रधानाध्यापक नगेन्द्र जेठाराले गर्नुभएको थियो।
