हेमा भट्ट, पुस १६
धनगढी — धनगढी उप–महानगरपालिकाको नीति तथा कार्यक्रम २०८२/०८३ अनुसार सञ्चालित दलित अभियन्ता जुठे दमाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत दलित समुदायका छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
धनगढी उप–महानगरपालिका–१२, जुगेडामा रहेको श्री शारदा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई छात्रवृत्ति अन्तर्गत शैक्षिक सामग्री प्रदान गरिएको हो। कार्यक्रम २०८२ पुस १६ गते सम्पन्न भएको हो।
कार्यक्रममा उप–महानगरपालिकाकी उपप्रमुख कलाकन्द रानाले दलित समुदायमाथि हुँदै आएको भेदभाव गलत भएको बताउँदै समाजको मानसिकता परिवर्तन हुनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। “हामी शिक्षित र जानकार बन्दै गएका छौँ, तर सोच र मानसिकता अझै पुरानै रीतिरिवाजमा बाँधिएको छ,” उहाँले भन्नुभयो, “अब सोच परिवर्तन नगरी समावेशी समाज निर्माण सम्भव छैन।”
उपप्रमुख रानाले नगरपालिकाले सिधै सामग्री वितरण गर्न सक्ने भए पनि कार्यक्रममार्फत जनचेतना फैलाउनुपर्ने उद्देश्यले औपचारिकभन्दा अनौपचारिक ढंगले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो। “सबैले बुझून्, स्वीकार गरून् र समाजमा सकारात्मक सन्देश जाओस् भन्ने हाम्रो चाहना हो,” उहाँको भनाइ थियो।
कार्यक्रमले दलित छात्राहरूको शैक्षिक निरन्तरतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
