पुस १६, कैलाली —सुदूरपश्चिम प्रदेशमा बढ्दो लागू औषध दुरुपयोग र शान्ति सुरक्षा अवस्थाबारे उच्चस्तरीय छलफल भएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओमप्रकाश रानाबीच बुधबार मुख्यमन्त्री निवासमा भेटघाट भएको हो।
भेटमा मुख्यमन्त्री शाहले लागू औषधको दुरुपयोगले विशेषगरी युवापुस्तालाई गम्भीर असर पारिरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रदेश प्रहरीले अझ प्रभावकारी र परिणाममुखी कदम चाल्नुपर्नेमा जोड दिनुभयो। उहाँले लागू औषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेशभर शान्ति सुरक्षा व्यवस्था थप मजबुत बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।
छलफलका क्रममा मुख्यमन्त्रीले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिँदै प्रहरी संयन्त्रलाई थप सशक्त, चुस्त र जनमैत्री बनाउने विषयमा सुझाव दिनुभएको थियो।
प्रहरी प्रमुख ओमप्रकाश रानाले लागू औषध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रदेश प्रहरी निरन्तर सक्रिय रूपमा परिचालित रहेको जानकारी गराउँदै मुख्यमन्त्रीबाट प्राप्त निर्देशनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
