हेमा भट्ट पुस १७
धनगढी — राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशले सि.बी.एम.को सहयोगमा सञ्चालित “हामीलाई पनि समावेश गर (फेज–२)” कार्यक्रमअन्तर्गत हालै सम्पन्न प्रादेशिक समन्वय कार्य समूह गठन तथा अभिमुखीकरण कार्यक्रममा भएका अवाञ्छित र अमर्यादित गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा कार्यक्रमकै क्रममा बसिट्रिजम अपाङ्गता भएका व्यक्तिका अभिभावक रमेश बस्नेतले कार्यक्रमका अध्यक्ष कृष्ण प्रसाद धमालामाथि लक्षित गर्दै अमर्यादित व्यवहार देखाउनुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको उल्लेख गरिएको छ। यस्तो व्यवहार न केवल कार्यक्रमको मर्यादाविपरीत रहेको, बल्कि संस्थागत सुशासन र लोकतान्त्रिक अभ्यासमाथि प्रहार भएको महासंघको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, विधिसम्मत रूपमा गठन भई हाल क्रियाशील रहेको सुदूरपश्चिम प्रदेश कार्य समितिलाई अवैधानिक भन्दै सार्वजनिक रूपमा लगाइएका आरोप पूर्णतः आधारहीन, भ्रामक र अपमानजनक छन्। महासंघका अनुसार वर्तमान प्रदेश कार्य समिति विधान, प्रचलित कानुन तथा आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार वैधानिक रूपमा गठन भएको हो।
महासंघले केन्द्रीय कार्य समितिको निर्णयअनुसार गठन गरिएको एक टोलीले प्रदेश महासंघको सहभागिता र सहमति बेगर एकलौटी रूपमा प्रतिवेदन तयार पार्नु प्राकृतिक न्याय, सुशासन र संस्थाको विधानको ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको छ। यस किसिमको कार्यले संस्थाभित्र अविश्वास सिर्जना गर्ने र अपाङ्गता अधिकारको साझा आन्दोलनलाई कमजोर पार्ने महासंघको भनाइ छ।
कार्यक्रम सञ्चालनकै क्रममा अवैधानिक घोषणा गर्नु, अपमानजनक व्यवहार देखाउनु र योजनाबद्ध रूपमा अवरोध सिर्जना गर्नु दण्डनीय अपराधको श्रेणीमा पर्ने भन्दै महासंघले यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। यसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने अभियान, संस्थागत सुशासन र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने चेतावनीसमेत दिइएको छ।
महासंघले भविष्यमा यस्ता गैरकानुनी, अमर्यादित र संस्थाविरोधी गतिविधि पुनः दोहोरिएमा प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ। साथै, सबै सरोकारवालालाई जिम्मेवार, मर्यादित र लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न आग्रह गरेको छ।
उक्त प्रेस विज्ञप्तिमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण प्रसाद धमाला र सचिव नरदीप बहादुर धामीको हस्ताक्षर रहेको छ।
