दलित बहुउद्देश्यीय सहकारीको २८औँ वार्षिक साधारणसभा पुनर्वासमा सम्पन्न

धनबहादुर विक
पुनर्वास, १८ पुस —
दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ। पुनर्वास नगरपालिका–३ स्थित आईभीआरडीमा रहेको संस्थाको मुख्य कार्यालय प्राङ्गणमा सम्पन्न साधारणसभामा सहकारीका सेयर सदस्य, अतिथि तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष राजकुमार रायमाझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका सदस्य भरतबहादुर बिष्ट, पुनर्वास नगरपालिका प्रशासन अधिकृत तथा सहकारी विभाग प्रमुख धौलराम सार्की, सहकारी समन्वय समिति अध्यक्ष शंकरबहादुर केसी, नागरिक बचत तथा ऋण सहकारीका अध्यक्ष धोखे राना, शुभेच्छा पशुपालन सहकारीका अध्यक्ष पदमप्रसाद शर्मा, सगरमाथा हिमचुली कृषि सहकारीका अध्यक्ष नवीनकुमार तिमिल्सिना, संस्थाका पूर्व अध्यक्ष सेते विश्वकर्मालगायतको उपस्थिति थियो

कार्यक्रममा अध्यक्ष रायमाझीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी २०५३ साल माघ १० गते डिभिजन सहकारी कार्यालय महेन्द्रनगरमा विधिवत् दर्ता भई सुरु भएको जानकारी गराउनुभयो। प्रारम्भिक केही वर्ष सामान्य रूपमा सञ्चालन भए पनि २०५७ साल फागुन १ गते संस्थापक अध्यक्ष स्व. खड्कबहादुर विश्वकर्माको नेतृत्व र कालिका बजारबासीको सहयोगमा संस्थाले पुनर्जीवन पाएको उहाँले बताउनुभयो। हाल संस्था २८ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले सेयर सदस्य तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नगरप्रमुख शर्मा ले दलित बहुउद्देश्यीय सहकारी पुनर्वासको अग्रणी सहकारीका रूपमा स्थापित भएको उल्लेख गर्दै सहकारीले नामअनुसार नै काम गर्दै आएको प्रशंसा गर्नुभयो। सहकारी क्षेत्रमा हुने बेथिति नियन्त्रण गर्न नगरपालिकाले छिट्टै कानुनी व्यवस्था ल्याउने र असल सहकारीलाई प्रोत्साहन तथा गलत कार्य गर्ने कर्मचारी र सञ्चालकलाई दण्डित गरिने स्पष्ट पार्नुभयो।

संस्थाका कोषाध्यक्ष कञ्चन गिरीले आर्थिक वर्ष ०८१/८२ का लागि प्रस्तावित ३० करोड ४४ लाख ५० हजार रुपैयाँमध्ये ३१ करोड २३ लाख ३९ हजार २२९ रुपैयाँ बराबरको यथार्थ आय–व्यय विवरण प्रस्तुत गर्नुभयो। साथै आगामी आर्थिक वर्ष ०८२/८३ का लागि २४ करोड ९३ लाख रुपैयाँको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरिएको थियो।

पुनर्वास नगरपालिका–३ कालिका बजारमा मुख्य कार्यालय रहेको सहकारीले सेवा विस्तारका क्रममा पुनर्वास नगरपालिका–८ र १० तथा बेलौरी नगरपालिका–४ बेलौरी बजारमा शाखा सञ्चालन गरिरहेको जानकारी दिइयो।

२ हजार १८७ जना सेयर सदस्य आबद्ध रहेको संस्थामा नियमित बचत तथा ऋण कारोबार ईमानदारीपूर्वक गर्दै आएका २१ जना असल ऋणी सेयर सदस्यलाई दोसल्ला ओढाई कदरपत्रसहित सम्मान गरिएको थियो। लेखा प्रतिवेदन लेखा संयोजक गजेन्द्र ढकालले प्रस्तुत गर्नुभयो।

संस्थाले शुद्ध तोरीको तेल कोलु सञ्चालन, रासायनिक मलखाद, घरेलु ग्यास वितरणका साथै ज्येष्ठ नागरिकलाई न्यानो सिरक–कम्बल वितरण, भ्रमण कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू समेत गर्दै आएको छ।

आगामी दिनमा पनि यस्तै सिर्जनात्मक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने संस्थाका व्यवस्थापक दानबहादुर रावलले बताउनुभयो। कार्यक्रमको स्वागत उपाध्यक्ष तीर्थराज उपाध्यायले गर्नुभएको थियो भने सञ्चालन सचिव रामसिंह बडुवालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply